प्रगति ढकाल
बिहिवार, आश्विन २५, २०७५
719

गोरखाकी शकुन्तला भुजेलले दसैंका लागि भनेर छड्के तिलहरी बनाएकी छिन् । हुन त उनलाई छड्के तिलहरी लगाउने इच्छा पहिल्यै नै थियो । तर विदेशमा रहेका उनका श्रीमान्ले दसैंमा पैसा पठाउँला अनि किनौली भनेर आश्वासन दिएका रहेछन् । दसैं आउन पनि लाग्यो । सकुन्तलाका गहना लगाउने चाहना यसपटकको दसैंमा पूरा भएको छ ।
“सबैजनाले छड्के तिलहरी लगाएर हिँड्दा मेरो पनि यस्तै दिन कहिले आउँछ होला जस्तै लाग्थ्यो, पैसा नै थिएन के गर्नु रहर लागेर पनि, मनको रहर मनमा नै दबाउनुपथ्र्यो,” उनी भन्छिन्, “श्रीमान् विदेश गएको ३ वर्ष हुन लाग्यो , पहिला ऋण तिर्नै प-यो नि, असारमा नै किन्न मन थियो । तर श्रीमान्ले पर्ख म दसैंमा पैसा पठाउँला अनि किनौली भनेर रोक्नुभएको । पैसा नि पठाउनुभयो सुन पनि जोडेँ ।”

भुजेलमात्रै होइन, अमेरिकामा बस्दै आएकी कल्पना ढकाललाई पनि नयाँ गहना नकिनी दसैं मनाउनै मन लगेन । उनले नेपालबाट छड्के तिलहरी नै मगाएकी थिईन् । “मलाई त केही नयाँ चीज नजोडी दसैं नै आएको जस्तै लाग्दैन, हामी अमेरिकामा छौं तर नेपाली गरगहनामा नेपाली चाडपर्व मान्न मन पराउँछौं,” भाइबरमा कुरा गर्दै उनले भनिन्, “यसपटक त छड्के तिलहरी जोड्न मन लाग्यो, अनि नेपालबाट मगाएकी हुँ ।”
अधिकांश महिलाहरु नयाँ लुगा अनि नयाँ गरगहना किन्नका लागि दसैं या तीज कुरिरहेका हुन्छन् ।
चितवनकी सरिता थापा जागिरे छिन् । दसैंमा आउने बोनससहितले उनलाई सिक्रि बनाउने मोह चढेको छ । “गला रित्तै छ, जहिले पैसा नै पुग्दैन,” उनी भन्छिन्, “दसैंमा त बोनससहित पैसा आउँछ अनि सिक्रि बनाउन मन छ । सुन जोडे आफैलाई फाईदा ।”
बसुन्धाराकी इन्दिरा कार्कीलाई पनि केही न केही नयाँ चीजहरु नकिनी दसैं नै मनाएजस्तै लाग्दैन । नयाँ कुरा किन्ने बहाना पनि भएको छ दसैं उनका लागि । “मलाई त नयाँ चीज नकिनी दसैं नै मनाए जस्तै लाग्दैन, नयाँ कपडाहरु त जहिले आवश्यक छ त्यही बेला किन्छु,” उनी भन्छिन्, “तर सुन, मोवाईल या अन्य महँगा सामान किन्नुछ भने तीज या दसैंमा नै किन्दा अझै रमाईलो लाग्छ, यस्ता चीज आवश्यक छ भने पनि कुनै अकेजन नै कुर्नु मन लाग्छ ।”
गहना जोडे दुःख पर्दा काम लाग्ने भएकाले अरु सामानभन्दा पैसा हुँदा उनलाई गहना जोड्ने नै चाहना बढी हुन्छ । अधिकांश नारीहरुलाई गहना जोड्ने बाहाना पनि हुन्छ तीज, दसैं, अनि लगनको महिनाहरु ।
हिजोआज मेकअप एवं पहिरनसँगै डिजाईनका गहनाहरुको छनोट पनि प्राथमिकतामा पर्न थालेको छ । तर दसैं, तिहार, तीज लगायतका चाडपर्व होस् या विवाहका लागि गहना छनोट गर्नुअघि चलेको ट्रेन्डका विषयमा जानकारी राख्नु जरुरी छ । अहिले हरेक चीजको फेसनमा लगातार परिवर्तन आइरहेको छ । पहिरन होस् वा गरगहना । हरेक वर्ष बजारमा नयाँ–नयाँ फेसन देखिइरहेको हुन्छ । नयाँ फेसन अनुसार चल्न चाहन्छन् अधिकांश नारीहरु पनि । नारीहरु यस्तो गहना खरिद गर्न चाहन्छन्न्, जसमा परम्पराका साथै आधुनिकता पनि झल्कियोस् । यस्ता गहनाको उपयोगिता विवाहको मौसममा मात्र होइन, अन्य दसैं जस्ता पर्वहरुको अवसरमा समेत हुन्छ ।
पश्चिमा शैलीमा ढालेर परम्परागत गहनालाई नयाँ रूप दिइन्छ । यसमा केही सस्ता स्टोन विशेष गरी इमरल्ड, रुबी, डायमण्ड आदि बढी मन पराउन थालिएको छ । टु इन वन अवधारणा हिजोआज गहनामा निकै लोकप्रिय छ । यस्ता गहना विवाहका दिनबाहेक रिसेप्सनमा पनि लगाउन सकिन्छ । गलामा लगाइने हार मात्र होइन, कानमा लगाइने झुम्का समेत सबै अवसरमा प्रयोगमा ल्याउन सकिने डिजाइनमा तयार गर्न थालिएको छ ।
अघिल्लो वर्षहरुको तुलनामा यस बर्षको दसैंमा गहनाको माग बढि भएको बताउँछन् रिद्धिसिद्धि ज्वलेर्सका संचालक नरेन्द्र कुमार गुप्ता । “चाडपर्वका बेला गहनाको माग उच्च छ । थोरै देखी बढी मूल्यसम्मका गहना बनाउनेको भीड बढेको छ,” उनी भन्छन्, “बजारमा सुन चाँदीको माग राम्रो भईरहेको छ, नयाँ नयाँ आधुनिक डिजाईनमा नारीहरुको सोख छ, हामीले उहाँहरुको चाहनालाई पूरा गर्न आधुनिक डिजाईनका गरगहनाहरु बनाउँदै आइरहेका छौ ।”
दसैं या तिहारको अवसरमा गहनाको डिजाईनमा बिशेष छुट हुने भएकाले पनि यो समयमा गहना जोड्नेहरु बढी हुने गुप्ताको भनाई छ । “पहिलाको भन्दा ग्राहक बढिरहेका छन्, घटस्थापनाको दिनमा पनि पहिलेको कारोबारभन्दा बढी भएको छ ,” उनले भने, “अझै कारोबार बढ्दै जानेछ । पछिल्लो समय दसैंको मुखैमा मात्रै सपिङ हुन्थ्यो तर अहिले पहिल्यैदेखि नै सपिङ गर्न थालिएको छ ।”
उनका अनुसार पछिल्लो समयमा रानी हार, माईली तिलहरी, नौगेडी बढी फेसनमा छन् । पहिला पहिला भने आंैठी, मंगलसुत्र, जन्तर फेसनमा थियो । अहिलेको महँगीमा पनि गहनामा सोख बढिरहेको गुप्ता बताउँछन् । उनका अनुसार २५ देखि ४५ वर्ष उमेरका महिलाहरु गहना किन्न आउँछन् । रिद्धिसिद्धि नेपालमा पहिलो आइएसओ सर्टिफाईट प्राप्त ज्वलेर्स पनि हो । सुनचाँदीको गुणस्तर प्रमाणिकरण गरेर बेचिएकाले पनि ग्राहकहरुको बढी भिड लागेको बताउँछन् गुप्ता ।
आधुनिक डिजाईन र नेपाली संस्कृतिसँग सुहाउने गहनाहरुको माग बढिरहेको डिजाइनरहरु बताउँछन् । पूर्वदेखी पश्चिम महाकालीसम्म मात्रै होईन कि नेपालबाट गरगहनाहरु विदेशमा पठाउने चलन पनि बढिरहेको छ । माग अनुसारको डिजाईन गर्न चााडपर्वको समयमा कालिगडहरुलाई पनि भ्याइनभ्याई नै हुन्छ । ज्वेलर्सका अनुसार बर्षेनी सुन चाँदीका मागहरु बढिरहेको छ । पहिला पहिला तीजको आसपासमा मात्रै व्यापार पनि देखिन्थ्यो । तर अहिले दसैंमा पनि उस्तै माग बढिरहेको छ ।
पञ्चकन्या ज्वेलर्समा कार्यरत सुजन श्रेष्ठले पनि अरु समयमा भन्दा चाडपर्वहरुमा गहना किन्नेहरुको भिड बाक्लो हुने बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार पनि पछिल्लो समय बढ्दै गईरहेको जनसंख्याका कारण र नारीहरुको सौन्दर्यतामा सोख बढ्नुका कारण पनि सुनचाँदीको माग बढिरहेको बताउँछन् । “गत वर्षको तुलनामा गरगहनाका मागहरु बढ्दै गईरहेका छन्, समय परिवर्तनसँगै गरगहनाका डिजाईनहरु पनि परिर्वतन हुन्छन् किनकी नयाँ डिजाईनका गरगहनामा नारीहरुको आँखा जान्छ,” उनले भने, “सहरमा आधुनिक किसिमका र गाउँमा परम्परागत गरगहना नै बढी चलेका छन् । विषेश चाडपर्वमा नयाँ चीज लगाउने चाहना पनि हुन्छ र सुन जोड्नु भनेको सम्पत्ति जोड्नु हो ।”