कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
453

नेपालगन्ज- पश्चिम क्षेत्रकै सबैभन्दा बढी माछापालन हुने स्थानका रूपमा परिचित बर्दियाको बढैयाताल गाउँपालिका र बासगढी नगरपालिकामा अज्ञात रोग फैलिँदा विभिन्न पोखरी र तालमा पालिएका माछा धमाधम मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोग पत्ता लाग्न नसक्दा माछा मर्ने क्रमलाई रोक्न नसकिएको माछापालक किसानहरूले बताएका छन् । बिक्रीका लागि पालिएका माछा मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
माछापालनको प्याकेज क्षेत्र मानिएका यी ठाउँमा रोग फैलिएर माछा मर्ने क्रम नरोकिएको बढैयाताल–५ का किसान दिपक भुसालले बताए । “१ सय ५ बिघा क्षेत्रमा बनाइएका तालमा पालिका माछा दिनदिनै मर्ने गरेका छन्,” उनले भने, “प्राविधिकले दुई सातासम्म पनि माछा मर्नुको कारण कारण पत्ता लगाउन सकेका छैनन् ।”

तालमा फैलिएको जलकुम्भीले अक्सिजन नपाएर माछा मरेको हुन सक्ने प्राविधिकको आशंका छ । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक कमल तामाङले तालमा विगतमा पनि यस्तो रोग देखिने गरेको र रोगको पहिचान हुन नसकेको बताए । “जलकुम्भीका कारण अक्सिजन अभावले हो कि भनेर अनुसन्धान गर्दै छौं,” उनले भने, “पोखरीको क्षमताभन्दा दाना र माछा बढी हुँदा पनि माछा मर्ने गर्छन् ।” बढैयातालमा जिल्ला समन्वय समितिले वार्षिक २३ लाख रूपैयाँमा माछापालनको ठेक्का दिएको छ ।
जलकुम्भी नियन्त्रण नहुँदा ताल पुरै ढाकिएको छ । “ताल ठूलो भएकाले जलकुम्भी हटाउन सम्भव पनि छैन,” किसान भुसालले भने, “बढैयाताल गाउँपालिकाले पनि जलकुम्भी हटाउन पहल गरेको छैन ।”
यस्तै बासगढी नगरपालिकाका विभिन्न तालमा पालिएका माछा पनि मर्न थालेका छन् । यहाँका किसानले सरकारी प्राविधिकले माछामा लागेको रोग पत्ता लगाउन बेवास्ता गरेको गुनासो गरेका छन् । बासगढीका माछापालक किसान शान्त चौधरीले दैनिक सयौं माछा मर्दा पनि रोग पत्ता लगाउन वा मर्ने क्रम रोक्न कुनै ठोस कदम नचालिएको बताए ।
गत वर्ष बढैयाताल गाउँपालिका र बासगढी नगरपालिकामा अमोनिया टक्सी सिटी नाम गरेको रोग फैलिएपछि हजारौं माछा मरेका थिए । यो वर्ष पनि यी दुबै क्षेत्रमा सयौं माछा मरिसकेका छन् तर कुन रोगले मरेका हुन् सो बारेमा केही पनि पत्ता लागेको छैन ।