कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
328

काठ उद्योगी व्यवसायीले वन पैदावारको बजार प्रवद्र्धन नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । वन पैदावारको बजार प्रवद्र्धन व्यवस्थापनमा आएका चुनौतीका कारण वनजन्य उद्योग स्थापनामा निजी क्षेत्रको लगानी आकर्षित नभएको भन्दै उनीहरूले बजार प्रवद्र्धनको नीति अवलम्बन गर्न सरकारसँग माग गरेका हुन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र सचिव डा. विश्वनाथ ओलीलाई भेटी वन पैदावारको बजार सुनिश्चित गर्न सरकारले पहल गरिदिन आग्रह गरेका हुन् । महासंघका अनुसार वन पैदावारमा आधारित उद्यम तथा उद्योगबाट उत्पादित वस्तुले सहज बजार प्राप्त गर्ने सन्दर्भमा सरकारी नीति, कार्यक्रम, संयन्त्र र प्राथमिकताले महत्वपूर्ण प्रभाव पर्ने बताएको छ ।

वन पैदावारमा आधारित उत्पादनलाई प्राथमिकता दिए वन पैदावारमा आधारित उत्पादनलाई प्रतिस्थापन हुने गरी आयात भइरहेको काठजन्य वस्तुको उपयोगमा उपभोक्ता आकर्षित हुने महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले वन पैदावारको बजार सुनिश्चित गर्नका लागि सरकारी भवनमा काष्ठजन्य झ्याल ढोकालगायत फर्निचर र पार्टेसनका लागि प्लाइको अनिवार्य प्रयोग गर्ने व्यवस्था, निजी भवनमा काठबाट निर्मित वस्तुको उपयोगमा सहुलियत प्रदान गर्न आवश्यक रहेको बताएका छन् । “सरकारी क्षेत्रबाट नै वनजन्य तथा निर्मित वस्तु प्रयोग स्वस्थकर हुने भन्ने प्रचार गर्नुका साथै वन पैदावारमा सहुलियतको व्यवस्था हुनुपर्छ,” उनले भने, “वन पैदावारको बजार प्रवद्र्धन भयो भने लगानीमैत्री वातावरण पनि सिर्जना हुन्छ, वन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छौं, उहाँहरू सकारात्मक हुनुहुन्छ ।”