मनोरञ्जन शर्मा
मंगलबार, आश्विन ३०, २०७५
604

३२ करोड मूल्यका खसीबोका

रुपन्देही-दसैं पर्वको प्रयोजनका लागी अत्यधिक प्रयोग हुने खसीबोकाको आयात ह्वात्तै बढेका् छ । देशको प्रमुख भन्सार नाका भैरहवा(बेलहिया) हुँदै असोज २८ गते आइतबारसम्ममा कुल ४० हजार ६४ गोटा खसीबोका आयात भएको हो ।
भैरहवा भन्सार कार्यालयका भन्सार एवं सूचना अधिकृत कलिराम पौडेलका अनुसार विगतको वर्षहरूमा भन्दा यो पटक दसैंको समयमा अधिक खसीबोका आयात भएको हो ।
दसैंमा मासु प्रयोजनका लागी खसीबोका अधिक प्रयोग हुने गरेको छ । रेड मिटका रूपमा खसीबोकाको मासु चिनिने र स्वास्थयका लागि स्वस्थकर नहुने चिकित्सकहरूले बताएको भए पनि हरेक वर्ष यसको आयात बढीरहेको छ ।
बेलहिया नाका हँदै आयात हुने खसीबोकाहरू प्रायः रुपन्देही जिल्लामा खपत हुन्छन् भने काठमाडौं, चितवन, पोखरातर्फ पनि पठाउने गरिएको पाइएको छ ।
अघिल्लो वर्ष दसैंको समयमा यो नाका हुँदै (२०७३ को साउन र भदौ महिनामा) ११ करोड १४ लाख ५२ हजार मूल्यबराबरको १८ हजार ७ सय ३७ गोटा खसीबोका आयात भएकोमा गत वर्ष (२०७४ को साउन, भदौ, असोज) १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ मूल्यका २१ हजार १ सय १५ गोटा खसीबोका आयात भएको थियो ।
आर्थिक वर्ष २०७४ । ७५को १२ महिनामा बेलहिया नाका हुँदै १ लाख ३७ हजार २ सय ३१ गोटा खसी बोका आयात भएका थिए । अहिले गत वर्षको तुलनामा करीब ३० प्रतिशत खसी बोका आयात भइसकेका छन् ।

अन्य समयभन्दा चाडबाडको समयमा अत्यधिक खपत हुने खसीबोका, माछाको आयात बढेको हो, अहिले दसैंको समयमा दैनिक २ हजारका हाराहारीमा खसीबोका आयात भइरहेका छन्, सूचना अधिकृत पौडेलले भने ।
भन्सार मूल्यांकन वृद्धि
भारतबाट आयात हुने खसीबोकाको मूल्यांकनमा वृद्धि भएको छ । श्रावण महिनासम्म प्रतिखसीबोकाको मूल्यांकन भारतीय रुपैयाँ ४ हजार ५ सय रुपैयाँ रहेकोमा भदौ महिनादेखि वृद्धि गरी ५ हजार भारतीय रुपैयाँ कायम भएको छ ।
खसीबोकाको भन्सार शुल्क कृषि सेवा शुल्कबापत ५ प्रतिशत मात्र लाग्दै आएकोमा यो वर्षदेखि भन्सार बिन्दुमै अग्रिम आयकरबापत ५ प्रतिशत व्यवसायीले राजस्व बुझाउनु पर्ने प्राबधान रहेको छ । विगतमा कृिष सेवा शुल्क मात्रै लाग्दै आउँदा व्यवसायीहरूले नक्कली फर्म खडा गरी आयकरनै नबुझाउने र हरेकपल्ट नयाँ फर्मबाट आयात गर्न थालेपछि यो पटकदेखि भन्सार बिन्दुमै अग्रिम आयकरको ब्यबस्था सरकारले गरेको हो । अहिले भन्सारमा कृषि तथा अग्रिम आयकरबापत खसीबोका आयात हुँदा २ करोड ७० लाख ४ सय ६ रुपैयाँ संकलन भइसकेको सूचना अधिकृत पौडेलले बताए । आइतबार सम्म ३२ करोड ५ लाख बढी मूल्यका खसीबोका यो नाका हुँदै भित्रिसकेका छन् भने भित्रने क्रम अझै जारी छ ।
। मासु व्यवसायीका अनुसार भारत उत्तर प्रदेश राज्यको विभिन्न सहरबाट खसीबोका आयात हुन्छ । नाकाबाट आयात हुने सबै खसीबोकाको फिजिकल तथा क्लिनिकल परीक्षण हुने र अहिलेसम्म यो नाका हुँदै ल्याइने खसीबोकामा त्यस्तो कुनै समस्या नदेखिएको पशु क्वारेन्टाइन चेकपोस्ट बेलहियाले जनाएको छ ।