कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
257

रुकुम पूर्वको भुमे गाउँपालिका–६ धरमशालाकी जेष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन् । नागरिकता पाउँदा उनी निकै खुसी छन् । उनी भन्छिन्, “डाँडामाथि गएको घामजस्तो यो उमेरमा आएर नागरिकता पाउँछु होला भन्ने त सोचेकै थिइन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पनि उनले पाएकी थिइनन् ।
सजिलै हिँडडुल गर्न तथा सदरमुकामसम्म पुग्न गाह्रो हुने यो अवस्थामा गाउँघरमा नागरिकता घुम्ती शिविर सञ्चालन गरेको भन्दै सोही ठाउँका शारीरिक रूपमा अशक्त सूर्य बुढाले खुसी व्यक्त गरे । उनीहरू दुवैले शिविरमार्फत नागरिकता प्राप्त गरेका हुन् । यही कात्तिक १७ गते शनिबार भुमे गाउँपालिका–६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एक दिने घुम्ती सेवा शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । जसमा महिला २४ र पुरुष ११ जना छन् । जसमा एक जना अपांग छन् । नागरिकता वितरणसँगसँगै उनीहरूले मतदाता नामावलीसमेत भरेका छन् ।
गाउँटोलमा आएर नागरिकता वितरण गरेको भन्दै धरमशालाबासीले खुसी व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अन्य ठाउँमा पनि नागरिकता पाउनबाट वञ्चित धेरै नागरिक भएको भन्दै यो कामलाई निरन्तरता दिने बताए । गाउँपालिकाका अन्य नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गर्न पहल गरिने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । रुकुम पूर्व प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला हो । यहाँका दुरदराजका बस्तीबाट सदरमुकाम पुग्न कम्तीमा पनि ३ दिन पैदल हिँड्नुपर्छ । जिल्लाका कोही पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोउन र सिंहदरबारको सेवा सुविधा गाउँघरमै आएको अनुभूति गरुन भन्ने उद्देश्यले सार्वजनिक बिदाको दिनमा पनि शिविर सञ्चालन गरेको प्रजिअ शर्माले बताए । “हरेक सार्वजनिक बिदाको दिनमा तालिका बनाएर नागरिकता शिविर जनताको चाहना र मागअनुसार जिल्लाका सबै ठाउँमा पुग्नेछु,” प्रजिअ शर्माले भने ।