दिपक बोहरा
मंगलबार, कार्तिक २०, २०७५
106

पाँचथर-नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु हुँदा बजार, गाउँ र बस्तीमा झिलिमिली हुन थालेको छ । दीप र फूलको पर्वको रूपमा मनाइने तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो । तिहार नजिकिएसँगै बजारमा विभिन्न प्रकारका माला र सजावटका सामग्रीले सजिसजाउ भएको देख्न सकिन्छ ।
बजारमा पाइने विभिन्न प्रकारका माला र आयातित सजावटका सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत सयपत्री फूल र मखमली फूलको प्रयोग हराउँदै गएको छ । कस्मेटिक सामग्रीको प्रयोगले बर्सेनि करोडौं रुपैँया बाहिर गइरहेको छ । तिहारमा मात्रै लाखांै लाख बराबरको कस्मेटिक फूल र माला भित्रिने गरेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए । कस्मेटिक माला र फूलहरूको प्रयोग बढे पछि ठूलो मात्रामा रकम बाहिर जाने गरेको अध्यक्ष नेपालको दाबी छ ।

कस्मेटिक फूल र मालाको प्रयोग सहर बजारमा मात्र नभई ग्रामीण भेगमा समेत हुन थालेको मिक्लाजुङ–४ रवी बजारमा ब्यवसाय गर्दै आएका शेखर शाहाले बताए । ग्रामीण बजार रवीमा समेत ठूलो मात्रामा कस्मेटिक फूल भित्रने गरेको शाहले बताए । मंखमली र सयपत्री फूलको प्रयोग बढाउन सके धेरै ठुलाू रकम विदेश जान रोकिने तथा फूलखेतीबाट उद्यमीसमेत बन्न सकिने अध्यक्ष नेपालले बताए । यसको लागि मखमली र सयपत्रीको प्रयोगको धार्मिक तथा सांस्कृतिक महत्वसमेत बुझाउन जरुरी रहेको नेपालको तर्क छ ।
तिहारमा मखमली र सयपत्रीको प्रयोग घट्दै गएकोको दुःख लाग्ने गरेको मिक्लाजुङ–२ बस्ने वृद्धा सन्तबहादुर अधिकारले बताए । पहिले सबै घरमा सयपत्रीको मालाले सजिसाउ हुनेमा आजभोलि विभिन्न किसिमका रंगीविरंगी बत्ती बाल्ने चलनले पुरानो संस्कृति हराउँदै गएकोमा दुःख लागेको अधिकारीले बताए ।