कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
209

दोलखा-दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा ४९ वटा बालमैत्री धारा निर्माण गरिएको छ । ठूला र बच्चालाई समेत प्रयोग गर्न सहज हुने गरी ति धारा निर्माण भएका हुन् ।
सफा पानी कार्यक्रमअन्तर्गत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र धात धुने ठाउँसमेत तयार गरेको छ । वर्षौंदेखि धारा बने तापनि ठूला र बच्चाका लागि हुने गरी र लुगा सुकाउनका लागि समेत छुट्टै ठाउँ उपयुक्त लागेको बाबरेका पूर्व उपप्रधानपञ्च समेत रहेका ८६ वर्षीय टहलबहादुर थामीले बताए ।

सेवक नेपाल र स्थानीय साझेदार सामुदायिक विकास मञ्चको सहयोगमा निर्माण भएको खानेपानीबाट बाबरेमा मात्र ३ योजना हालै सम्पन्न भएर तुँवापामा ९८ घरका ४४२ जना, चाल्सीपुटुङका ३४ घरका १६० जना र ठातीटोलका २८ घरका १२९ जना लाभान्वित भएका छन् । स्थानीयको सहभागितामा खानेपानी योजना र सरसफाइको कार्यक्रम सञ्चालन गरेको सेवक नेपालका कार्यक्रम प्रबन्धक प्रह्लाद तिमल्सिनाले जानकारी दिए ।
स्थानीय दैनिक खानेपानी लिनका लागि आधा घण्टाको बाटो हिँडेर जानुपर्ने बाध्यता रहेकोमा खानेपानी योजना पूरा भएपछि त्यो समय आयआर्जनमा प्रयोग गरिने कालिञ्चोक गाउँपालिका–२ का वडाध्यक्ष नानी पाण्डेले बताए । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँको विकास पूर्वाधार तयारीका लागि गाउँपालिकाले सबैसँग सहकार्य गर्ने बताए । उनले आफ्नो गाउँपालिकाभित्र सबै घरमा सफा पानीको धारा निर्माणमा जोड दिने जानकारी दिए ।
खानेपानी योजना निर्माणका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग विकास नियोग र मिभी नेदरल्याण्डले सहयोग गरेका छन् । ति आयोजना पूरा गर्न साढे ४६ लाख रुपैयाँ खर्च भएको छ । योजनाको दिगोपनाका लागि मर्मत संभार कोष र प्लम्बर तालिमसमेत स्थानीयलाई दिएको कार्यक्रम प्रबन्धक तिमल्सिनाले जानकारी दिए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको नेतृत्वमा स्थलगत अनुगमन गरी आयोजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । प्रमुख पाण्डेले पानीको विकल्प पानीबाहेक अरु नहुने भएकाले स्थानीयले आफ्नै योजना सम्झेर प्रयोग गर्न आग्रह गरे । यसअघि पनि बाबरेमै ५ वटा योजना पूरा भइसकेको छ । कार्यक्रम अवधि १ वर्ष बाँकी रहेकाले अन्य योजनासमेत बन्न सक्ने सेवक नेपालका अधिकारीले जानकारी दिएका छन् ।
सेवक नेपालले दोलखाको साविकको १४ वटा गाविसमा खानेपानी तथा सरसफाइको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थानीय तह कार्यान्वयन हुनु अघि सामुदायिक धारा निर्माण सुरु गरेको भए तापनि अहिले स्थानीय तहका सरकारले एक घर एक धाराको अभियान सुरु गरेका छन् । योजना सञ्चालित गाउँमा टाढा एकमात्र घर भएको ठाउँमा समेत धारा निर्माण गरेको सेवक नेपालका प्रबन्धक प्रह्लाद तिमल्सिनाले जानकारी दिए ।