कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
283

व्यावसायिक रूपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सीप भए आफ्नै ठाउँमा सजिलैसँग आम्दानी गर्न सकिन्छ । आफ्नै ठाउँमा पुष्प व्यवसाय गरी सफल व्यवसायीको छवि बनाएका प्रदीप शाही यतिबेला जिल्लाका अन्य युवाका लागि उदाहरणीय पात्र बनेका छन् ।

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–५ का पुष्प व्यवसायी प्रदीप शाहीको नर्सरीमा यतिबेला ढकमक्क सयपत्री फूल फुलेका छन् । उनको नर्सरीमा जाने जो–कोहीले पनि त्यहाँको वातावरण देखेर तिहार आएको महसुस गर्छन् ।
६ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका शाही यतिबेला भने सयपत्रीका माला गाँस्नमा व्यस्त छन् । तिहार सुरु भएसँगै उनीसँगै उनका कामदार र परिवारलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार सुरु भइसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जान्छ । उनले भने, “फूल टिप्न, माला गाँस्न चटारो छ ।”

जिल्लाकै एकमात्र पुप्प व्यवसायीका रूपमा परिचित शाहीले सयपत्री फूल तथा माला बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । त्यतिमात्र होइन, उनले आफ्नो नर्सरीमा सिजनअनुसारका विभिन्न जातका फूलका बिरुवा पनि बिक्री गर्दै आएका छन् ।
यस वर्षको तिहारका लागि मात्र ४ हजार फूलका बिरुवा रोपेका शाहीले गत वर्षको तुलनामा यस वर्ष आम्दानीमा वृद्धि हुने अनुमान गरेका छन् । गत वर्षको तिहारमा समयमै फुल नफुल्दा सोचेजति आम्दानी लिन नसेको भन्दै उनले यस वर्ष ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको बताए ।
शाहीको नर्सरीमा फूल र माला किन्नका लागि स्थानीयसँगै व्यापारीहरू पनि उनको नर्सरीमै पुग्छन् । एउटा मालाको ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । उनले भने, “फूलको थुंगा र मालाको आकार अनुसार मूल्य निर्धारण गरिएको छ ।”
पुष्प व्यवसायमा राम्रो सम्भावना देखेपछि उनले आफ्नो व्यवसायलाई यस वर्षदेखि बढाएका छन् । कमलामाई नगरपालिका–५ मा रहेको कालिका नर्सरीका उत्पादन अब कनपा–६ लक्ष्मणचोकबाट समेत प्राप्त गर्न सकिने शाहीले बताए । उनले नर्सरी सञ्चालन गरेसँगै अन्य ३ जना युवाले पनि रोजगार पाएका छन् ।
नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको शाही बताउँछन् । सार्वजनिक कार्यक्रमहरूमा पनि मालाको माग बढ्दो छ, उनले भने, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुराउनै गाह्रो छ ।” उनको नर्सरीमा उत्पादन भएका फूल सिन्धुली, रामेछाप र काठमाडौँमा समेत बिक्री हुने गरेको छ ।
खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले रोजगारीका लागि पुष्प व्यवसाय गतिलो माध्यम बनेको उनले बताए । व्यावसायिक रूपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सीप भए आफ्नै ठाउँमा सजिलैसँग आम्दानी गर्न सकिने उनको भनाइ छ । आफ्नै ठाउँमा पुष्प व्यवसाय गरी सफल व्यवसायीको छवि बनाएका शाही यतिबेला जिल्लाका अन्य युवाका लागि उदाहरणीय पात्र बनेका छन् ।