कृष्ण न्यौपाने
बिहिवार, कार्तिक २९, २०७५
247

दमौली-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्वओमकार तथा हिन्दु महामिलन पर्वमा बिहीबार सहभागी हुँदै मन्त्री अधिकारीले व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै पूर्वीय दर्शनबाट प्रभावित हुने मानिसलाई यहाँ आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

मन्त्री अधिकारीले भने, ‘२८ औं व्यासको महिमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुराउँदै यसलाई एउटा धार्मिक पर्यटनको केन्द्र बनाउनेतर्फ जनस्तरबाट लाग्नुपर्छ । त्यसमा संघीय सरकारको साथ र सहयोग रहन्छ ।’
मन्त्री अधिकारीले नेपाल शान्तिभूमि र ज्ञानभूमि रहेको चर्चा गर्दै त्यसको एउटा केन्द्र वेदव्यासभूमि पनि बन्न सक्ने बताए । व्यासभूमिको विकास र प्रबद्र्धनका लागि संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अधिकारीले प्रदेश र स्थानीय तहको सरकारले समेत यसको विकासमा ध्यान दिनुपर्ने बताए । । मन्त्री अधिकारीले व्यासभूमिलाई गुरुयोजना अनुसार विकास गर्नुपर्नेमा समेत जोड दिए ।
संसारमा जति पनि विकास भएका छन् त्यसको परिकल्पना पूर्वीय दर्शनले पहिल्यै नै गरिसकेको चर्चा गर्दै उनले भने, ‘ती तीजहरु पहिल्यैदेखि थिए, हामीले त्यसलाई पढ्यौ मात्रै । अरुले चाँही त्यो पढेर विकास गरे ।’ उनले नेपालीसँग ज्ञानको स्रोत र शक्ति दुवै रहेकोले त्यसलाई उपयोग गर्दै समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने धारणा राखे ।
धार्मिक स्थल र प्राचीन सम्पदाको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउँदै उनले त्यसकै माध्यमबाट आध्यात्मिक जागरण सिर्जना गर्न सकिनेमा जोड दिए । ऐतिहासिकता र संस्कृतिलाई अन्धविश्वास जोड्न नहुनेमा जोड दिँदै मन्त्री अधिकारीले भने, ‘पूर्वीय दर्शनको पौराणिक इतिहास खोज्ने हो भने हाम्रो जस्तो सत्य इतिहास दुनियाँमा कसैको छैन ।’
मन्त्री अधिकारीले भूकम्पबाट क्षति भएका पुराना सम्पदाको पुर्ननिर्माणमा जनस्तरबाट समेत सहयोग प्राप्त भएको बताउँदै त्यो उदाहरणीय रहेको बताए । उनले भने, ‘मनकामना मन्दिरको पुर्ननिर्माणमा सरकारले रु. चार करोड लगानी गरेपनि त्यसको पुर्ननिर्माणका लागि जनस्तरबाट रु. दश करोड भन्दा बढि प्राप्त भयो र आज नेपालकै सुन्दर मन्दिर बन्न सकेको छ ।’
महामिलन पर्वमा बिहीबार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल, समानुपातिक प्रतिनिधि सभा सदस्य कलिला खान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायत सहभागी भएका छन् ।
कात्तिक १ गतेदेखि शुरु भएको महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महामिलन पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।
गत वर्ष कार्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकिर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप अब प्रत्येक वर्ष कार्तिक महिनामा यो कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
पर्वका अवसरमा महर्षि वेदव्यासले रचना गरेको वेदको बारेमा समेत भक्तजनलाई जानकारी गराउने गरिएको छ । महामिलन पर्वका अवसरमा वैदिक सनातन विधि अनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताहरुको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुहरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

मन्त्री अधिकारीद्वारा गुम्बाको अवलोकन
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बिहीबार नै दमौलीमा रहेको तमुसार क्होईबो गुम्बाको समेत अवलोकन गरेका छन् । गुम्बाको अवलोकन गर्दै उनले गुम्बाको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गुम्बामा निर्माण गर्न लागिएको गुरुङ संग्रहालयका लागि मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्नेतर्फ आफू सकारात्मक रहेको मन्त्री अधिकारीले बताए ।