कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
292

झापा-दमक नगरपालिकाका पप्पु चौधरीले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनी तरकारी मन्डीका सञ्चालक पनि हुन् । जिल्लामा उत्पादन घट्दै गएर उपभोक्ताको माग धान्न नसकेपछि चौधरीले आफैं तरकारी खेती सुरु गरेका हुन् ।
चौधरीले बुद्धशान्ति गाउँपालिका—६ शान्तिनगरमा ३२ कठ्ठा जग्गा भाडामा लिएर तरकारी लगाएका छन् । गत साउनबाट सुरु गरेको उनको तरकारी खेतीमा अहिले उत्पादन हुन थालेको छ । अलराउण्ड, हजार सन्ताउन्न, कविता, गौरव ५५५ जातको गोलभेंडा, काउली, पिपल र पाली जातको करेला, सागर जातको भेँडे खुर्सानी उनले लगाएका छन् । अग्र्यानिक तरकारी उत्पादन गर्ने दाबी गर्ने चौधरीले खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएर स्थानीय कृषकलाई उत्प्रेरण जगाउन सफल भएको बताए । “अहिले मैले गर्दै आएको व्यवसायका बारेमा सल्लाह लिन धेरै साथीहरू आउनुहुन्छ,” उनले भने, “उत्पादनबाट आम्दानी लिन सुरु गरिसकेको छु ।”

मल्चिङ प्रविधिमा खेती गरिएको यो फर्ममा दैनिक १० जनाले रोजगारी पाएका छन् । गाउँका धैरै युवा विदेसिएका कारण सिजनका बेलामा कामदारको अभाव हुने गरेको चौधरी बताउँछन् । महिलालाई दैनिक ३५० र पुरुषलाई ५०० रूपैयाँ ज्याला दिने गरेको फर्मले केही युवालाई मासिक तलब उपलब्ध गराएको छ । एउटै जातको तरकारी धेरै उत्पादन गर्दा बजारको अभाव हुने भएकाले सबै जाताको तरकारी मिलाएर लगाएको उनले बताए । फर्मलाई ‘कर्मा ग्रुपअफ कम्पनी’ले प्रविधिक सहयोग गरिरहेको छ । कर्माले सहयोग गरेको फर्ममा विषादीयुक्त मलको प्रयोग हुँदैन ।
किरा मार्न विषादीकोे ‘ट्राप’ प्रयोग गर्ने गरिएको छ । उर्भरभूमि र सिँचाइको सुविधा भएको बुद्धशान्ति गाउँपालिकालाई तरकारीको पकेट क्षेत्रको रूपमा लिइने गरिएको छ । “बिहानैदेखि तरकारी खेतीको रेखदेखमा लाग्छु,” चौधरीले भने, “समय गएको पत्तै हुँदैन, व्यवसाय राम्रोसँग चलेको छ ।” परम्परागत कृषि प्रणालीको अन्त्य गरी आधुनिक प्रविधिबाट अग्र्यानिक व्यवसाय सुरु गरेको उनी सुनाउँछन् ।
जमिनमा लगातार एउटै तरकारीको खेती, अत्यधिक विषादीको प्रयोगलगायतका कारण तरकारीको उत्पादनमा कमी आएको स्थानीय बताउँछन् । सिँचाइको सुविधा राम्रो भएकाले पनि उत्पादन बढीरहेको छ । उनले भने, “बाह्रै महिना आफ्नै खेतबारीमा तरकारी फलेको देख्दा यस व्यवसायबाट सन्तुष्टि मिलेको छ ।” तरकारी व्यवसायले आफ्नो जीवनमा परिवर्तन ल्याएको उनको भनाइ छ । राम्रो आम्दानी लिनका लागि बेमौसमी तरकारी खेती लगाउनुपर्ने उनको अनुभव छ । उनी भन्छन्, “कृषिप्रधान देश नेपालका कृषक नै तरकारी किनेर खान्छन्, यसले गर्दा हाम्रो देशको परिचय गुम्ने सम्भावना छ ।”
व्यवसायमा सफलता प्राप्त गर्नु छ भने काममा लगनशील भएर लाग्नुपर्ने उनी बताउँछन् । उत्पादित तरकारीलाई ठूलो बजारमा बिक्री गर्न ढुवानीका लागि लाग्ने खर्चले गर्दा आफू जस्ता व्यवसायीलाई व्यवसाय गर्न केही समस्या परेको उनले बताए । तरकारीले जसरी मानिसको जीवन बदलिदिन्छ त्यसैगरी चौधरीको जीवनस्तर पनि परिवर्तन गरिदिएको छ ।

मनिषा चम्लागाईं