कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
278

काठमाडौ-मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिन डिसेम्बर १० तारिक अर्थात सोमबार बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईदै छ ।
यसरी नै सो दिन नेपालमा पनि अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईने भएको छ । विहिबार मानब अधिकारको क्षेत्रमा काम गदै आएका विभिन्न संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर दिवस मनाउने जनाएको छ ।

नेपाल प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको संस्थागत बिकासका लागि मानव अधिकारको पूर्ण संरक्षण र सम्बद्धनमा प्रतिबद्ध जनाईरहेको परिपेक्षमा नेपालमा पनि सो दिवस मनाईदै छ । नेपालले दिगो शान्ति र स्थायित्वलाई संस्थागत गर्नका लागि मानव अधिकारको पहरेदार भएर खडा भईरहेको छ । यही कुरालाई मध्यनजर गर्दै नेपालले अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर नेपालमा बिक्रम सम्वत् २०६६ सालदेखि राष्ट्रिय मानवअधिकार महाभेलाको आयोजना गर्दै आईरहेको छ । नेपालमा मानव अधिकारको क्षेत्रमा काम गरेका बिभिन्न संघसंस्थाहरुको साझा चौतारीका रुपमा राष्ट्रिय मानव अधिकार महाभेला स्थापित भईसकेको छ । यस बर्ष ७० औ मानव अधिकार दिवसको मूलनाराका रुपमा ‘सबैका लागिघर–घरमा मानव अधिकार,शान्ति र बिकासको आधार’ लाई अघि सारीएको छ ।
नेपालले पनि यही कुरालाई मध्यनजर गर्दै ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १० औ राष्ट्रिय मानवअधिकार महाभेलाको मुख्य नाराका रुपमा दिगो बिकास र मानवअधिकार, नेपालीको मूल सरोकार भन्ने नारालाई अघि सारेको छ । यस बर्षको अन्तराष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा साताब्यापी मनाईने १० औ राष्ट्रिय मानवअधिकार महाभेला मंसिर २२ गतेदेखि २८ गतेसम्म संचालन हुने छ । यस महाभेलाको संयोजकका रुपमा युथ एड्भोकेसी नेपाल, सहसंयोजकमा पौरखी नेपाल र फतिमा फाउण्डेशन रहेका छन् भने देशैभरका १ सय १५ भन्दा बढी मानअधिकारसँग आवद्ध संघसंस्थाहरु यस महाभेलाका आयोजकका रुपमा रहेका छन् भने राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा महाभेला हुन गईरहेको छ । यही मंसिर २२ गते डिसेम्बर ८ तारीखका दिन महाभेलाको शुभारम्भ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा एक समारोहका बिच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मंसिर २४ गते बिहान ८ बजे काठमाण्डौकोको भृकुटीमण्डपमा बृहत शान्ति र्यालीको आयोजना गरीने छ । त्यसरी नै मंसिर २५ र २६ गते दुई दिन काठमाण्डौको हार्दीक होटलमा बिभिन्न बिषयमा बृहत छलफल चलाईने छ ।
त्यसरी नै देशब्यापी रुपमा महाभेलालाई सप्ताहब्यापी मनाउने कार्यतालिका बमोजिम सातवटै प्रदेशमा राष्ट्रिय मानव अधिकार महाभेला आयोजक समितिका बिभिन्न कार्यक्रमहरु संचालन हुनेछन् । जसमा प्रदेश नम्बर १ मा बिराटनगर, प्रदेश नम्बर २ मा जनकपुर, प्रदेश नम्बर ३ मा हेटौडा, प्रदेश नम्बर ४ मा पोखरा,प्रदेश नम्बर ५ मा बाँके, प्रदेश नम्बर ६ सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीमा बिभिन्न कार्यक्रम आयोजना गरीने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले बताए ।