दीननाथ बराल
बिहिवार, पुष २६, २०७५
476

पोखरा-गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरे पनि हालसम्म यस कार्यक्रममा केन्द्रित भई ठोक कार्यक्रम ल्याउन सकेको छैन । सन् २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकता दिए पनि आन्तरिक पर्यटन वर्ष घोषण भएको एक साता बितिसक्दा पनि आन्तरिक पर्यटक भित्रयाउने योजना सार्वजनिक गर्न सकेको छैन ।
गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्षका लागि १० करोड बजेट विनियोजन गरे पनि उक्त रकम कहाँ र कसरी खर्च गर्ने भन्ने कुनै टुंगो छैन । ढिलै भए पनि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराले पोखराका केही पर्यटन व्यवसायीसँग छलफल गरी गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्षका सम्बन्धमा सरोकारवालासँग सुझाव संकलन गर्न सुरु गरेको छ । ११ जिल्लाका सम्भावित पर्यटकीय, सांस्कृतिक, ऐतिहासिक, सहासिक लगायतका विषय वस्तुलाई समेटेर गुरुयोजना बनाएर अघि बढ्नु पर्नेमा प्रदेश सरकारले तयसो गर्न सकेको छैन । छलफलमा दिएको राय सल्लाह तथा सुझावलाई मन्त्रालय र पर्यटन बोर्डले उपयुक्त पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक सूर्य थपलियाले बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आन्तरिक भ्रमण वर्षलाई प्रभावकारी बनाउन पहिला नै कार्यक्रम ल्याउनु पर्नेमा पर्यटन ऐन, नियम बनाउन नसक्दा ढिलाइ भएको बताए । उनले ढिलै भए पनि केही सराकारवालासँग छलफल गरी अघि बढ्ने बताए । मन्त्री लम्सालले गण्डकी प्रदेशको नाका मुग्लिन र राम्दीमा नमस्ते सूचना केन्द्र (इन्फरमेसन डेक्स) स्थापना गर्ने बताएका छन् ।
गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ का सम्बन्धमा पोखरामा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यसै वर्षमा गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिन र राम्दीमा पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा प्रवेशको अनुभूति हुने गरी नमस्ते सूचना केन्द्रको स्थापनाको तयारी भएको बताए । उनले भने, “मान्छेलाई के अनुभूति हुनुप¥यो भने अब म गण्डकी प्रदेशको पर्यटकीय सहरमा प्रवेश गर्दैछु, त्यसका लागि उनीहरूलाई सूचना केन्द्रबाट पर्यटकीय गतिविधि जानकारी हुनुका साथै मुल गेटबाटै उनीहरूलाई स्वागत गरेको अनुभूति दिलाउने हाम्रो चाहना हो ।” मुग्लिन र राम्दीमा सूचना केन्द्र स्थापना भएपछि नवलपरासी समेत राख्ने योजना भएको उनले जनाए ।
गण्डकी प्रदेशमा आगन्तुक आन्तरिक पर्यटकलाई आकर्षण गर्न नमस्ते अभियान सुरु गरिने भएको मन्त्री लम्सालले बताए । उनले भने, “अब हामीले हाम्रो क्षेत्रमा आगन्तुक पाहुनालाई आदर सत्कारको पहिलो कदम भनेको गण्डकी प्रदेशमा प्रवेश गर्न साथ हामी, ट्याक्सी चालक, सुरक्षाकर्मी, होटल तथा रेस्टुराँ व्यवसायी तथा कर्मचारीले नमस्ते अभियान सुरु गर्नुपर्छ, यो अभियान हामी सबै क्षेत्रमा लागू गर्न आग्रह गछौं ।” सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष मनाउने गण्डकी प्रदेशले उद्घोष गरे पनि एक साता समय बितिसक्दा पनि प्रदेश सरकारले कसरी आन्तरिक भ्रमण वर्ष मनाउने भन्ने सन्दर्भमा कुनै योजना बनाउन सकेको छैन ।