कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
420

चितवन- आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिका रूपमा चितवनस्थित नारायणी नदी किनारमा बुधबार सम्बोधन गर्दै चितवनलाई पहिला ७६ औं जिल्लाका रूपमा लिइने गरिएको उल्लेख गरेका छन् । उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने पनि उल्लेख गरे ।
प्राचीन ऋषिहरूको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्र्घन गर्न सकिने सम्भावना औंल्याउँदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरूको बसाई लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरू जस्तै :– नगरवन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरूमा सुविधासम्पन्न पर्यटकीय पूर्वाधारहरू जस्तै :– जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरूको निर्माण गरी समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

चितवनमा उत्पादन हुने कृषिउपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरी यहाँका स्थानीय कृषकहरूको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबका रूपमा समेत विकसित हँुदै गएकोमा प्रशन्नता व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का माननीय मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरू, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाललगायत विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए । बुधबारदेखि माघ ४ गतेसम्म १० दिन सञ्चालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन् । सन् २००१ मा स्थापना भएको आईएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ, सूचना–प्रविधि, ऊर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालिटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।