कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
454

बझाङ-लेकाली भेगमा हिमपात सुरु भएसँगै बझाङमा जंगली जनावर र पन्छीको चोरीसिकारी गर्ने क्रम तीव्र रूपमा बढको छ ।
मंसिरदेखि माघसम्म यहाँका उच्च हिमाली भेगमा हिमपात सुरु हुने र हिँउबाट जोगिन जंगली पशुपन्छी न्यानो खोज्दै हिँडेको मौकामा सिकारीहरूले सिकार गर्ने गरेका छन् । हिउँ परेपछि हिउँमा फसेका जनावर र चिसोले औलतिर झरेका पन्छीको सिकार गर्न सजिलो हुने भएकाले हिमाली क्षेत्रका बासिन्दा सिकार खेल्न जाने गर्छन् । सिकारीहरूले बन्दुक, भाला, हँसिया, लाठीलगायत घरेलु हतियार प्रयोग गरी रतुवा, घोरल, झारल, थारल, बँदेल, डाँफे, कालिजको सिकार गर्ने गरेका छन् । हिमाली भेगमा सिकारको सिजन सुरु भएसँगै काँडा, सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलबिसौना, कैलाशका विभिन्न वन क्षेत्रमा चोरी सिकार भइरहेको स्थानीय बताउँछन् ।

दुई चार वर्षअघि गाउँनजिकै प्रसस्त पाइने डाँफेलगायतका पन्छी र जंगली जनावर आजभोलि मुस्किलले देखिने गरेको बुङ्गल नगरपालिका–२ का वीरबहादुर धामीले बताए । केही वर्ष पहिलासम्म हिउँ पर्दा मृग र डाँफेलगायतका पशुपन्छी गाउँमै आउँथे तर अहिले लेकतिरमात्र फाट्टफुट्ट भेटिन्छन तै पनि देख्नलाई मुस्किल पर्दछ । हरेक वर्ष हिउँदको समय सुरु भएसँगै चोरी सिकार हुने भएको भए पनि यसको नियन्त्रणमा कसैको ध्यान जान नसकेको उनको भनाइ छ । हिउँद सुरु भएसँगै ग्रामीण क्षेत्रमा जंगली जनावर तथा पन्छीको मासु खुलेयाम बिक्री हुने गरेको छ ।
बेलाबेलामा स्थानीय प्रशासन र जिल्ला वन कार्यालयको समन्वयमा चोरी सिकार नियन्त्रणका लागि विभिन्न अभ्यास भएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । बर्सेनि चोरीसिकारीले डरलाग्दो रूप लिइरहेको भए पनि हिउँदको समयमा प्रशासन पनि मौन देखिन्छ । जंगली पशुपन्छीको मासु जिल्ला सदरमुकामलगायत विभिन्न व्यापारिक केन्द्रमा रहेका स्थानीय बजारमा खुलेयाम बिक्री भइरहेको छ । विशेषगरी डाँफे, कालिज, घोरल, रतुवा, थारलगायतका जंगली पशुपन्छीको मासु खुलेयाम बिक्री हुने गरेको छ । जंगली पन्छी डाँफे, मुनाल र कालिज ३ देखि ५ हजार रुपैयाँ र जंगली जनावरको मासु प्रतिकेजी १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
भौगोलिक विकटता, जनशक्ति अभाव र उच्चहिमाली क्षेत्र भएकाले चोरी सिकारले डरलाग्दो रूप लिएकाले यसलाई नियन्त्रण गर्न विशेष योजना बनाइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी प्रविन धितालले बताए । चोरी सिकारी नियन्त्रणका लागि कुन ठाउँमा सिकार हुन्छ र कुन नाका भएर ओसारपसार हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको र स्थानीयले पनि बताउन नचाहेका कारण पत्ता लगाउन विशेष टोली परिचालन गरिने उनको भनाइ छ ।