कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
268

डडेल्धुरा-देशमा विद्युत् अभाव भइरहेको समयमा डडेल्धुराको साविकको रुपाल गाविसस्थित चालू अवस्थामा रहेको रुपालीगाड साना जलविद्युत् केन्द्र विगत पाँच वर्षदेखि बन्द अवस्थामा छ । हालको भागेश्वर गाउँपालिका–१ पनिउटमा रहेको रुपालीगाड साना जलविद्युत् केन्द्रद्वारा विस्तार गरिएको विद्युत् लाइनमा राष्ट्रिय प्रसारणलाइन जडान भएपछि रुपालीगाड साना जलविद्युत् केन्द्र बन्द गरिएको हो ।
साविकको रुपाल गाविसलाई विद्यु्त आपूर्ति गर्दै आइरहेको विद्युत् केन्द्रमा रहेका दुईवटा टरबाइनमध्ये एउटा बिग्रिएको छ भने एउटा सुचारु छ । विद्युत् उत्पादन गर्न बन्द गरेपछि करोडौं मूल्यका सामग्रीसहित कार्यालय भवन अलपत्र अवस्थामा छ । नेपाल विद्युत् प्राधिकरणले तीन दशकभन्दा पहिले स्थापना गरेको हाल बन्द अवस्थामा रहेको यो रुपालीगाड साना जलविद्युत् केन्द्रबाट एक सय किलोवाट विद्युत् उत्पादन हुने गरेको थियो ।

चालु अवस्थामा रहेको टरबाइन सञ्चालन गर्नुको साटो अलपत्र अवस्थामा छोड्दा विद्युत् केन्द्रमा रहेका करोडौं मूल्यका सामग्री खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् । संरक्षण अभावमा यो विद्युत् केन्द्रको कार्यालय, पावर हाउस भवन पनि जीर्ण बन्दै जान थालेको छ । चालू अवस्थामा रहेको विद्युत् उत्पादन केन्द्रलाई बन्द गर्नुको साटो सञ्चालन गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।
स्थानीयवासी भुवन भट्टले भने, “डडेल्धुरामा विद्युत् नपुग्दै पहिले यो क्षेत्रमा विद्युत् आएको हो, अहिले आएर बन्द हुँदा यस क्षेत्रलाई मात्रै हैन समग्र देशलाई असर परेको छ ।” त्यतिबेला हेलिकोप्टरबाट सबै सामान ल्याएकाले करोडौं मूल्यका सामान यसरी थन्किँदा यी सामान सडेर जाने अर्का स्थानीय पवन टमटाको भनाइ छ ।
सरोरकारवाला निकायको बेवास्ताका कारण सञ्चालनमा रहेको टरबाइनबाट समेत विद्युत् उत्पादन नगर्दा ५० किलोवाट विद्युत् उत्पादन हुनसकेको छैन भने स्थानीयस्तरमा भइरहेको व्यापार व्यवसाय पनि बन्द हुँदा स्थानीय बासिन्दा निराश बनेका छन् ।