कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५
604

स्थानीय तहको निर्वाचनपूर्व नागरिकहरूमा विभिन्न किसिमका आशा र विश्वासका पोका थिए । नहोस् पनि किन पार्टीका घोषणापत्र र भाषण हेर्ने हो भने त्योभन्दा पनि बढी आशा गर्ने ठाँउ थियो । निर्वाचनपछि गाँउ–गाँउमा सिंहदरबार आउँछ भनेर सिंहदरबारको बाटो कुरिरहेका स्थानीयले अझै सिंहदरबार देख्न पाएका छैनन् । बैकिंग कामका लागि समेत यहाँका स्थानीयले दुई–तीन दिन खर्चेर सदरमुकाम धाउनु परेको छ ।
सबै दलका घोषणपत्रमा लक्षित वर्गलाई निकै प्राथमिकतामा राखेको थियो । तर यस जिल्लाका लक्षित वर्गले सिंहदरबारको अनुभव गर्न पाएका छैनन् । चुनावपछि आफूले पाउँदै आएको सामाजिक सुरक्षाभत्ता बढ्छ भनेर औंला गनिरहेका नागरिकले निर्वाचन भएको १० महिना बितिसक्दा समेत सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् ।

जिल्लाका १० वटै स्थानीय तहमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलालगायत समाजिक सुरक्षाभत्ता पाउने सेवाग्राहीले अन्तिम चौमासिक बित्नै लाग्दासमेत भत्ता नपाएका हुन् । “सरकारले दिएको वृद्धभत्ताले नुनतेल र बिरामी परेको बेला औषधि ल्याउन हुन्थ्यो यस वर्ष त भत्ता पनि पाइएन, सारै समस्या परेको छ ।” दोगडाकेदार गाउँपालिका–३ कटौजपानीका जानकी भट्टले भनिन् ।
दोगडाकेदार गाउँपालिकामा माथिबाटै सामाजिक सुरक्षावापतको रकम नआएकाले अझै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बताए । “ठिक्क हामीहरू निर्वाचित भएपछि उक्त रकम नआउँदा भत्ता पाउने व्यक्तिले पनि पटक–पटक सोध्ने गर्छन् तर भत्ताको रकम नआउँदा दिन सकिएको छैन्” कार्कीले भने । “अब त नागरिकहरूले पनि हामीहरूलाई दोष लगाउँछन्, हाम्रो समस्या कसले बुझ्ने,” उनले दोहोराए ।
पञ्चेश्वर गाँउपालिकामा पहिलो किस्ताको भत्ता वितरण गरिएको भए पनि त्यसपछिको भने वितरण गरिएको छैन । “पहिलो चरणमा गाउँपालिकाबाटै म्यानेज गरेर वितरण ग¥यौँ अब कहाँबाट दिने साह्रैै समस्या छ,” गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने । सिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सूर्नया गाउँपालिका, पुर्चाैडी नगरपालिका र सिगास गाउँपालिकाको पीडा पनि त्योभन्दा फरक छैन । निर्वाचनपछि लाभग्राहीले भत्ता नपाउँदा हामीप्रतिको विश्वास समेत गुमेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदको भनाइ छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकाले झन् ६५ वर्षमा नै भत्ता वितरण गर्ने निर्णय गरेको थियो । तर त्यो कार्यान्वयन हुनु त कहाँ हो कहाँ झन पहिलादेखि खाइपाई आएको भत्तासमेत नपाउँदा आफूहरूमाथि अन्याय भएको लाभग्राहीको गुनासो छ ।

-नरी बडु