कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
858

दमौली- प्रदेश नम्बर ४ को नाम र प्रदेश राजधानीबारे जनमत संकलन गर्न प्रदेश सांसदको टोली यतिबेला जिल्ला–जिल्लामा छ । प्रदेश राजधानीको विषयमा विवाद नभएपनि प्रदेश नामाकरणका सन्दर्भमा भने फरक फरक राय आएका छन् ।
प्रदेशको नामाकरण सम्बन्धमा राय सुझाव संकलन गर्न प्रदेश राजधानी तथा नामांकन समितिले सोमबार दमौलीमा सुझाव संकलन कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा अधिकांश सहभागीहरूले प्रदेशको नाम गण्डकी राख्न उचित हुने सुझाव दिएका छन् । गण्डकीले सबै क्षेत्रको भावना समेट्ने भन्दै उनीहरूले प्रदेशको नाम गण्डकी उपयुक्त हुने बताएका छन् ।
नेकपा एमाले तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रदेशको नाम गण्डकी वा गण्डक उपयुक्त हुने सुझाव दिए । प्रदेश राजधानी बारे भने कसैको पनि दुई मत नरहेको उनको भनाई थियो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले भौगोलिक पहिचान भएको गण्डकी प्रदेश नै उपयुक्त हुने बताए । आलेले प्रदेशका सबै मन्त्रालयहरू पोखरा मात्रै नभई तनहुँ आसपासमा समेत बनाउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अतिन्द्रकेशरी न्यौपानेले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै तमुवान उपयुक्त हुने बताए ।
कार्यक्रममा सहभागीहरूले प्रदेशको नाम तमुवान–मगरात, व्यास लगायत हुनुपर्ने सुझाव दिएका थिए । कतिपयले भने यो कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताएका थिए । कार्यक्रमको अध्यक्षता गरेकी प्रदेश सभा सदस्य सरिता गुरुङले विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई प्रदेश सभामा प्रस्तुत गरिने बताइन् ।

 

 

कृष्ण न्यौपाने