लक्ष्मीप्रसाद सापकोटा
बुधवार, जेठ ३०, २०७५
309

समग्र पर्वत जिल्लाको विकासका लागि पर्वत उद्योग बाणिज्य संघले तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । विधानअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार विशेष भेला गरी २८ बुदे कार्ययोजना अघि सारिएको हो । संघले सार्वजनिक गरेका कार्यक्रमहरूमा सुरुंगामार्गदेखि जलाशययुक्त परियोजनासम्मका छन् । पर्वत उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष केदारनाथ शर्माले सार्वजनिक गरेको कार्ययोजनामा कुश्माबजारको व्यवसाय वृद्धिका लागि कुश्मा कल्लेरी हँुदै छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल निर्माण, कुश्मादेखि कटुवाचौपारी जोड्ने मोदीखोलामा मोटरेबल पुल निर्माणलाई जोड दिने भएको छ । त्यस्तै सदरमुकाम रहेको कुश्माबजारदेखि दक्षिण पर्वतको हुवास जोड्ने सडक कालोपत्रे गर्नका लागि पहल गर्ने । कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गसँग लिंक जोड्न तथा पर्वत–पोखरा सुरुंगामार्ग निर्माण गर्न पहल गर्ने । त्यस्तै कालीगण्डकीमा जलाशययुक्त परियोजना संचालनका लागि आवश्यक समन्वय गर्ने जस्ता महत्वकांक्षी योजना सार्वजनिक भएका छन् ।
बिना दर्ता सञ्चालित उद्योग ब्यावसायलाई दर्ता प्रक्रियामा ल्याउने, वस्तुगत व्यवसायीहरूको छुट्टाछुट्टै भेला गरी व्यावसायिक समस्या पहिचान गरी समाधान गर्ने, धार्मिक एवं ऐतिहासिक महत्व बोकेका जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने, कुश्माबजारमा एक हजार जना क्षमताको सिटीहल निर्माण तथा कुश्मा रिङरोड र भ्युटावर निर्माण गर्ने योजना अघि सारेको छ ।

त्यसैगरी कुश्मादेखि बलेवाको भैरबस्थानसम्म केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन र दुर्लुङमा सञ्चालित क्यानोनिङको व्यवस्थापनका लागि काम गर्ने योजना समेत सार्वजनिक गरिएको छ । कृषिउपज संकलन केन्द्रको निर्माण सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउने, जिल्लाको समग्र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पर्यटक रुटको नक्सांकन गर्न पर्यटनबोर्ड तथा टान र हानसँग समन्वय गर्ने कार्ययोजना पनि अघि सारिएको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत उत्पादित लप्सीलाई जिल्लामा प्रशोधन गर्न उद्योग स्थापना गर्ने, जिल्लामा उत्पादित वस्तुहरूको भण्डारण गर्न कोल्डस्टोर निर्माण गर्ने योजना पनि तीन वर्षभित्र पूरा गर्ने प्रतिबद्धता संघले जनाएको छ । सरकारी, निजी र सहकारी गरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, कुश्माबजारको खेदकुद मैदान निर्माण कार्य सम्पन्न गर्ने, व्यवसायीलाई मूल्य अभिवृद्धि करबारे समय समयमा प्रशिक्षणा दिने, आगामी वर्ष छैटौं पर्वत महोत्सव गर्ने, जिल्लाका सबै स्थानीय तहमा एक–एक उत्पादनलाई प्रोत्साहित गर्दै उपशाखा खोल्ने कार्ययोजना पनि अघि बढाइएको छ । त्यसैगरी युवा स्वरोजगार कार्यक्रमलाई व्यापक र ब्यवस्थित बनाउने, गत वर्ष स्थापित अक्षयकोषलाई नियमावली अनुसार सञ्चालन गर्ने, कुश्माबजारमा व्यवस्थित बसपार्क निर्माणका लागि पहल गर्ने, आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी पान शिविर र नापतौल विभागसँग समन्वय गरी नापतौल शिविर सञ्चालन गर्ने पनि योजना छ ।
कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले उद्योग वाणिज्य संघले घोषणा गरेका कार्यक्रमहरू जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण रहेको बताउँदै मन्त्रालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । अबको समय राजनीति मात्र नभएर विकास र समृद्धिका लागि काम गर्नुपर्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ रहेको थियो । मन्त्री लम्सालले स्वरोजगार सिर्जना गरी गरिबी निवारण गर्नका लागि आगामी बजेटमा उद्योग, वन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइने पनि उनको भनाइ थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले उद्योग वाणिज्य संघका गतिविधिलाई जिल्लाका सातवटै तहमा समान रूपमा सञ्चालन गर्न आग्रह गरे ।