कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
297

दाङ- झण्डै एक सातादेखि जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण जिल्लाका संस्थागत विद्यालय बन्द भएका छन् ।
बुधबारदेखि शुक्रबारसम्म जिल्लाका संस्थागत विद्यालय बन्द घोषणा गरिएको छ । जिल्लामा झण्डै २ सय संस्थागत विद्यालय छन् । अत्यधिक गर्मीले दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । आकाशमा बादल देखा परे पनि पानी पर्न सकेको छैन । मगलबार पनि केही छिन आकाशमा बादल भए पनि पानी पर्न सकेन ।
जिल्लाका केही भू–भागमा मंगलबार पानीको छिरका विरका परे पनि ठूलो पानी पर्न सकेन् । पश्चिम वायुले वादल फटाउने गरेको छ । पूर्वी हावा प्रवेश नगर्दासम्म पानी पर्ने सम्भावना कमजोर भएको मौषमविदहरूले बताएका छन् । पानीको अभावमा कृषकले लगाएको मकैको बोट समेत सुकेका छन् । मगलबार दाङको अधिकत्तम तापक्रम ३३ डिग्री छ । सोमबार ३६ डिग्री सेल्सीएस थियो ।
यसैबीच संस्थागत विद्यालयको छाता संस्था प्याब्सन र एन प्याब्सनले मगलबार संयुक्त विज्ञप्ति निकाली असार १ गतेसम्मका लागि विद्यालय बन्द गरेको जनाएका छन् । “मौषम परिवर्तनसँगै विद्यालयमा विद्यार्थी बिरामी हुने समस्या भएको भन्दै केही दिनका लागि संस्थागत विद्यालय बन्दको घोषणा गरेका छौं,” प्याब्सन दाङका अध्यक्ष यादव गिरि र एन प्याब्सनका अध्यक्ष भीमबहादुर बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दिवा खाजाको रकम फिर्ता हुने
डोल्पा- डोल्पाका विद्यार्थीलाई आएको दिवा खाजाको ३३ लाख रुपैयाँ फिर्ता जाने भएको छ । ८ वटा स्थानीय तहका १ सय ६ भन्दा बढी सामुदायिक विद्यालय जेठ महिनाको पहिलो सातादेखि असारको पहिलो साता करिब एक महिनासम्म जिल्लाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । बहुमूल्य जडिबुटी यार्सागुम्बा खोजीमा विद्यार्थी अविभावक यार्सा पाटनमा जने भएकाले एक महिनाको सम्पूर्ण विद्यालयको दिवा खाजाको रकम फिर्ता जाने भएको हो ।

सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रत्येक महिनामा प्रतिविद्यार्थीका लागि करिब बिस दिनको दिवा खाजास्वरुप अनुदान दिने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिँहराज डाँगीले बताए । पाँच कक्षासम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी एक दिनको २० रुपैयाँको दरले एक महिनामा ४ सय रुपैयाँ दिवा खाजामा जाने रकम फिर्ता जाने प्रमुख डाँगिीले बताए । जेठ अन्तिम सातादेखि विदार्थीहरू डोल्पाका विभिन्न पाटनमा यार्सा संकलनमा छन् । धेरै जसो विद्यार्थीले एक महिनाको समयमा आफै यार्सागुम्बा संकलन गर्ने र पढाइ खर्च चलाउने गर्दछन् ।