Karobar Daily
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
112

बागलुङ-हिउँदको समयमा खानेपानीको चरम अभाव झेल्न बाध्य जिल्लाको बरेङ गाउँपालिकाका स्थानीयले मुहान संरक्षणको काम थालेका छन् । स्थानीयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङको सहयोगमा बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका तीनवटा पानीको मुहान संरक्षणको काम थालनी गरेका हुन् ।
खानेपानीका मुहान संरक्षणका लागि वृक्षारोपण, तटबन्ध र तारजाली लगाउनेलगायतका काम गरिने छ । खानेपानी विभागको मुहान संरक्षण कार्यक्रमअन्र्तगत बागलुङमा पहिलोपटक मुहान संरक्षणको काम थालिएको डिभिजन कार्यालय बागलुङका इन्जिनियर जनकराज गौंडेलले बताए । जथाभावी वन फँडानी, बाटोघाटो बनाउँदा प्रयोग हुने स्काभेटर तथा डोजरका कारण थर्केको जमिन र भूकम्पपछि विस्तारै पानीका मुहान सुक्न थालेपछि विभागले संरक्षणको अभियान सुरु गरेको हो । बागलुङको बरेङ गाउँपालिकामा खनेपानीको चरम अभाव रहेका बस्तीलाई लक्षित गरेर मुहान संरक्षणको अभियान थालिएको हो ।
जिल्लामै पहिलोटक सञ्चालित मुहान संरक्षण कार्यक्रमका लागि पहिलो चरणमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ । अहिले धुल्लुबाँस्कोटका डण्डुरे खोला, दुदिले खोला र भिरकुवा मुहान संरक्षण गरिने इन्जिनियर गौंडेलले जानकारी दिए । तीनवटै मुहान संरक्षणका लागि मुहानदेखि उत्तरी भागमा पानी सञ्चित गर्न सक्ने २ सय बिरुवा रोपिने छ भने पहिरो नियन्त्रणका लागि ग्याविन भर्ने योजनासमेत बनाइएको छ । ४० स्थान ग्याविन लगाएर माथिल्लो भागबाट आउन सक्ने पहिरोको जोखिम कम गरेर २ सय मिटर वरपरको भागमा तारबार गर्ने योजना रहेको कर्यालयले जनाएको छ ।
पहिलो चरणको कार्यक्रम भएकाले बजेट कम रहेको र ठेकेदार कम्पनीमार्फत काम गर्न लागिएको गौंडेलले जानकारी दिए । धुल्लुबाँस्कोटका तीनवटा मुहान संरक्षणका लागि वसुन्धरी निर्माण सेवाले टेन्डर पाएको छ । “हामीले सबै काम गर्न कम्पनीलाई जिम्मा लगाएका छौं,” गौडेलले भने, “आगामी असार मसान्तभित्रै सबै काम सक्ने गरी काम सुरु भएको छ ।” सुक्खा र उच्च स्थानमा रहेका संरक्षण गर्नुपर्ने पानीका मुहान धेरै रहेकाले आगामी वर्षको बजेटमा थप योजना माग गरेर पठाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अत्यधिक बस्ती विस्तार भइरहेको र खानेपानी अभाव रहेको बलेवा क्षेत्रमा पनी मुहान संरणको आवश्यकता महसुस गरिएको छ । “मूलाबारीको जंगल हुँदै कालिगण्डकीमा मिसिने धापेखोला आसपासका क्षेत्रमा वृक्षारोपणको आवश्यकता छ,” कार्यालयका सूचना अधिकारी गौंडेलले भने, “धापेखोलाको पानी बचाउन वृक्षारोपण पहिलो कुरा हो ।”
धुल्लुबाँस्कोटका तीनवटा मुहानबाट हाल १४२ परिवारले खानेपानीको प्रयोग गर्दै आएका छन् । “मुहान संरक्षण तथा वृक्षारोपणको काम हुनु खुसीको कुरा हो,” योजनाको विषयमा चासो राख्दै जिल्ला समन्वय समितिका संयोजक तथा धुल्लुबाँस्कोटका स्थानीय राजेन्द्र ढुंगानाले भने, “जमिन थर्केर दब्दै गएका मुहानलाई पुरानै अवस्थामा ल्याउन सके सयौं सर्वसाधारणलाई राहत हुने थियो ।” विकासका नाममा प्रयोगमा आइरहेका स्काभेटर, डोजरलगायतका अत्याधुनिक साधनको प्रयोगका कारण पानीका मुहानमा असर परिरहेको ढुंगानाले बताए । “सुक्खा समयमा पानीको यसै पनि अभाव छ,” ढुंगानाले भने, “विकास निर्माणका काममा सावधानी अपनाउन नसक्दा भएका पानीका मुहान पनि सुक्दै गएका छन् ।” उनले जनस्तरमा चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
-त्रिलोचन रिजाल

पानी आउने भएपछि स्थानीय हर्षित
डडेल्धुरा- पहाडमा पनि बोरिङबाट पानी निस्केपछि डडेल्धुराका जनता हर्षित भएका छन् । अमरगढी नगरपालिका–८को पहलमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल उग्रतारा भगवती मन्दिर परिसरमा भूमिगत प्रविधिबाट खानेपानी निकालेपछि पानीको समस्या भोगिरहेका स्थानीय लाभान्वित हुने भएका छन् ।


पहाडी भूभाग, कडा चट्टानका बीच उग्रतारा भगवती मन्दिर परिसरमा भूमिगत पानी उत्पन्न भएको भन्दै पानी हेर्नका लागि सर्वसाधारणकोे घुइँचो लाग्नुका साथै पानी पाउने आशामा खुसी भई बोरिङको पूजासमेत गरेका छन् । डिप बोरिङबाट खानेपानी ट्यांकी तथा धारा निर्माणसँगै खानेपानीका लागि घण्टौंसम्म खोला, नाला धाउने अमरगढी–८का महिलाले पानी जोहो गर्नुपर्ने दिनचर्याबाट ठूलो राहत पाउने स्थानीय इन्द्रादेवी साँकीले बताइन् ।
करिब ३६ लाखको लागतमा ८ सय फिट गहिराइबाट निस्कने पानीले अमरगढी–८ अन्तर्गतका ५ सय घरधुरीले ‘एक घर एक धारा’ खानेपानीलगायत सिँचाइ सुविधासमेत उपभोग गर्न पाउने वडाध्यक्ष नरबहादुर साँकीले बताए ।
खानेपानी विभागको आर्थिक सहयोग एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराको प्राविधिक सहयोगमा निर्माण हुन लागेको डिपबोरिङ जिल्लाको नमुना र प्रभावकारी योजनाको रूपमा रहेको स्थानीय बासिन्दाको भनाइ छ ।