कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५
409

नुवाकोट-गरिबी निवारण कोषमार्फत नुवाकोटमा करिब १० करोड रुपैयाँ लगानी भएको छ ।
वि.सं २०७१ चैतदेखि सुरु भएर जिल्लाको साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आर्यआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएको संस्थामार्फत नौ करोड ३६ लाख ९९ हजार रुपैयाँ लगानी भएको कोषको नुवाकोट इकाई संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

तामाङका अनुसार विभिन्न चारवटा सामाजिक संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रमले १७१ सामुदायिक संस्था निर्माण गरी ६ करोड १२ लाख ५२ हजार रुपैयाँ लगानी गरी घुम्ती कोष सञ्चालन गर्दै आएको छ । लगानीको ब्याजसहित कोषमा हाल १० करोड रुपैयाँ पुग्न लागेको हो । “संस्थामा आबद्ध भएका चार हजार ७६६ जना सदस्यलाई गरिबीबाट उन्मूलन गरी आर्थिक रूपमा समृद्धि ल्याउन लगानी प्रभावकारी देखिएको छ,” उनले भने, “गरिबी निवारणको चरणअन्तर्गत न्यूनीकरणमा समेत उल्लेख्यनीय प्रगति हासिल गरेका छांै ।”
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम गत चैत महिनाबाट सम्पन्न भएको र समय थप नहँुदा नयाँ कार्यक्रम अन्योलमा छ । “राष्ट्र नै गरिब रहेको अवस्थामा धेरै नेपाली गरिबी रहे पनि त्यसको मापन नहुँदा अब आर्थिक रूपमा सचेतनाको माध्यमबाट मुलुकलाई समृद्धि बनाउन अब स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन भएमा प्रभावकारी हुने” तामाङले बताए ।
सरकारले लगानी गरेको रकम अहिले सम्बन्धित सामुदायिक संस्थामार्फत घुम्ती कोषको रूपमा सञ्चालनमा छन् । कोषलाई परिवर्तित स्वरुप र शैलीमा सञ्चालन गर्ने भनिए पनि अझै निर्णय नहँुदा सरकारको लगानी जोखिम र दुरुपयोगको खतरा देखिएको छ ।