सडक र विद्युत् प्राथमिकतामा
कारोबार संवाददाता
आइतवार, असार २४, २०७५
111

दमौली- आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि घाटा बजेट प्रस्तुत गरेको छ । खर्च र आम्दानीको अन्तर ९२ लाख ५१ हजार रुपैयाँ रहेकाले घाटा पूर्ति गर्न आन्तरिक स्रोत परिचालन गरिने गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन् । गत असार १० गते पेश भएर पारित भएको बजेट गाउँपालिकाकाले पारित बजेट शुक्रबार सार्वजनिक गरेको हो ।
गाउँपालिकाले २८ करोड ११ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ करोड ७९ लाख, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट ५ करोड ६० लाख २० हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड १३ लाख ७८ हजार, आन्तरिक स्रोत परिचालनबाट १ करोड २० लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
उल्लेखित गाउँपालिकाले आर्थिक विकासमा १ करोड ७३ लाख ६६ हजार, पूर्वाधार विकासमा ३ करोड ६८ लाख, सामाजिक विकासमा ३ करोड २० लाख ११ हजार ३ सय, वातावरण तथा विपद् व्यवस्थापन विकासमा १ करोड ६० लाख ३५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन विकासमा ५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ ५४ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सशर्ततर्फ ११ करोड ४६ लाख नेपाल सरकारबाट प्राप्त भएको मध्ये १२ लाख ९१ हजार नविकरणीय ऊर्जा, २१ लाख २९ हजार कृषि, पशु र सहकारी क्षेत्र, ३ लाख ५० हजार वातावरण र सरसफाइको क्षेत्र, ७ लाख ३४ हजार महिला बालबालिका तथा समाज कल्याण, ९ करोड ९० लाख १६ हजार शिक्षा र १ करोड ८ लाख ८० हजार रुपैयाँ स्वास्थ्यमा क्षेत्रमा खर्च हुने गरी पठाइएको छ ।
आफ्नो गाउँ आफै बनाउ भन्ने नीतिले गाउँपालिका अन्तर्गतका वडाको भौतिक, आर्थिक, सामाजिक र मानवीय विकासको लागि समानान्तर रकम विनियोजन गरिएको छ । सबै वडा सडक सञ्जालले आबद्ध भए तापनि केही क्षेत्र सडक सञ्जालले नछोएको हुँदा ती क्षेत्रमा आगामी आवमा सडक पुर्याइने भएको छ । छिम्केश्वरी, लाब्दी, भोटेश्वरा हुँदै हिलर्खक ट्रयाक खोल्ने र छिम्केश्वरी, भकुण्डे, लेस्तर हुँदै घुमाउने बुद्ध सिं मार्ग जोड्ने मुख्य लक्ष्य गाउँपालिकाको रहेको छ ।
गाउँ, वडा र बस्तीमा पानीको पहुँच सजिलो होस् भन्नाका लागि नागरिकको आवश्यकता अनुसार गाउँ–गाउँमा खानेपानीको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । विद्युत्को सुविधा नपुगेको ५ र ६ वडाका गाउँ टोल बस्तीमा नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको साझेदारी र समन्वयमा विद्युतीकरणलाई प्राथमिकता दिइनेछ । आगामी २ वर्षमा आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण गाउँ बस्ती टोलमा विद्युत् पुर्याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गरी युवालाई रोजगार उपलव्ध गराइने र उद्यमशीलता, स्वरोजगार र आय आर्जनमा केन्द्रित गर्न युवालाई छोटो र लामो अवधिको आय तथा सीपमूलक तालिम दिइने गाउँपालिकाको कार्यक्रम छ । गाउँपालिकालाई स्मार्ट सिटीको अवधारणमा लगिने र मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार समिति तथा सम्बन्धित निकायलाई यस आँबुखैरेनी गाउँपालिकाको सम्पूर्ण भू–भाग स्मार्ट सिटीको अवधारणामा राख्न अनुरोध गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

‘एक गाउँ एक उत्पादन’ को अवधारणा
गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ को अवधारणा अघि सारेको छ । जसअनुसार आँबुखैरेनी–५ को बरालुङगाउँ, खोलागाउँ र सानुभञ्ज्याङलाई मौरी, आँबुखैरेनी–४ को भाँगेलाई गोलभेडा, आँबुखैरेनी–३ को आँबुगाउँ, कोटगाउँलाई कागती, आँबुखैरेनी–२ को नयाँगाउँ, खोलागाउँ र पतेनी गाउँलाई सुन्तला खेतीमा पहिचान गराइनेछ ।