लक्ष्मी सापकोटा
मंगलबार, असार २६, २०७५
534

निजी क्षेत्रको सिन्डिकेट तथा कार्टेलिङ रोक्नका लागि सुरक्षा निकायद्वारा इन्धन बोक्ने ट्यांकर सञ्चालन प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले इन्धन ढुवानीमा भएको सिन्डिकेट र एकाधिकार हटाउन सुरक्षा निकायलाई इन्धन बोक्ने ट्यांकर सञ्चालन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
सोमबार मन्त्रालयमा नेपाल आयल निगम र नेपाली सेनाका उच्च प्रतिनिधिलाई बोलाएर ट्यांकर खरिद प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो । नेपाली सेनाको कल्याणकारी कोषमार्फत इन्धन बोक्ने ट्यांकर खरिद प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सुरक्षा निकायले ट्यांकर खरिदसँगै पेट्रोल पम्प सञ्चालन गर्ने निर्णय भए पनि त्यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

बजारमा जुनसुकै बेला पनि आपूर्ति व्यवस्था सहज पार्न सुरक्षा निकायमार्फत ट्यांकर खरिद प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । पेट्रोलियम ढुवानी क्षेत्रमा भएको सिन्डिकेट रोक्न सुरक्षा निकायलाई ट्यांकर सञ्चालन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
इन्धनको आपूर्ति व्यवस्था सहज राख्न सुरक्षा निकाय (सेना, प्रहरी र सशस्त्र) मार्फत ट्यांकर खरिद गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सैनिक प्रवक्ता गोकुल भण्डारीले इन्धन बोक्ने ट्यांकर खरिद गर्ने भनिए पनि कति संख्यामा खरिद गर्ने विषयमा निर्णय भइनसकेको बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले इन्धनको ढुवानीलाई नियमित र सहज राख्न सुरक्षा निकायबाट ट्यांकर सञ्चालन गर्न आवश्यक रहेको बताए । “सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोलपम्पमा इन्धन आपूर्ति गर्न ट्यांकर आवश्यक छ,” उनले भने, “यसका लागि आवश्यक पर्ने पूर्ण सहयोग गर्न निगम तयार छ ।” बेला–बेला निजी व्यवसायीले विभिन्न बहानामा इन्धन ढुवानी अवरोध गर्ने गरेका छन् । “बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज पार्न पनि सुरक्षा निकायबाट ट्यांकर सञ्चालन गर्न आवश्यक छ,” उनले भने । अहिले निजी व्यवसायीका ट्यांकरले इन्डियन आयल कर्पाेरेसन (आईओसीका) विभिन्न डिपोबाट इन्धन ढुवानी गर्दै आएका छन । अहिले एक हजार पाँच सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन् ।
निजी व्यवसायीले समय समयमा बन्द हड्ताल गरी इन्धन ढुवानी अवरोध पु¥याउँदै आएका छन् । जसका कारणले बजारमा इन्धनको आपूर्ति असहज हुने गर्छ । यस्ता समस्यालाई नियन्त्रण गर्न पनि सुरक्षा निकायबाट इन्धन ढुवानी व्यवस्था भए आपूर्ति नियमित हुने निगमको भनाइ छ ।