कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
695

दाङ- राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको आयोजनामा प्रदेश नंं ५ र ६ का ढुवानी व्यवसायीको भेला दाङमा सम्पन्न भएको छ ।
भेलाले समितिहरू नवीकरणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । दुईवटा प्रदेशका ७ संस्थाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी रहेको भेलामा बोल्ने वक्ताले सरकारले साउनदेखि समिति नवीकरण नगर्ने निर्णयसँगै व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए । उनीहरूले यातायात व्यवसायीको मागलाई राज्यले उचित व्यवस्थापन नगरेकोमा चिन्तासमेत व्यक्त गरेका थिए । साथै बैठकले साउन १ गतेदेखि समिति नरहने भएकाले हाल लिँदै आएको टिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरी आउने कुनै पनि दुर्घटनाको जिम्मेवारी समेत नलिने निर्णय गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मज्गैयाँले जानकारी दिए । उनले संस्था नवीकरण नगर्ने निर्याणसँगै आफूहरू अवैधानिक हुने भन्दै कुनै पनि जिम्मेवारी नलिने निर्णय गरेको बताए ।