कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
433

म्याग्दी-भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका विभिन्न स्थानमा रहेका सामुदायिक होटलमा लघुजलविद्युत् परियोजनामार्फत चौबिसै घण्टा विद्युत् आपूर्ति गराइएको छ ।
पर्यटकीयस्थलमा सञ्चालित सामुदायिक होटल तथा लजमा विद्युत् आपूर्तिका लागि सामाजिक अभियन्ता महावीर पुनको पहल, स्थानीयवासीको सक्रियता र विभिन्न निकाय तथा दाताको सहयोगमा ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको हो ।

दुई करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण भएको परियोजनाबाट उत्पादित विद्युत् खोप्रा, ढाडखर्क, बयली र आलखर्कमा सञ्चालित सामुदायिक होटलमा आपूर्ति गराइएको परियोजनाका अध्यक्ष लोकबहादुर पाइजाले बताए । धोस्तेखोर खोलाको पानीलाई तीन सय मिटर नहरबाट ल्याएर आलखर्कमा रहेको विद्युत्गृहमा जडान गरिएको टबाईनमा खसालेर विद्युत् उत्पादन गरिएको हो ।
भौगोलिक रूपमा विकट बस्तीदेखि टाढा रहेका सामुदायिक लजमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तारको सम्भावना नभएकाले लघुजलविद्युत् परियोजना निर्माण गरिएको अध्यक्ष पाइजाले बताए । सडक मार्ग भएर शिख पुराइएको तार, जेनेरेटर, टबाइनलगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । परियोजना निर्माणका लागि एसियाली विकास बैंकले ७५ लाख, नेपाल पर्यटन बोर्डको ४० लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले १३ लाख, महावीर पुनको पहलमा १८ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
तत्कालीन जिल्ला विकास समितिले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । एनएमबी बैंकको बेनी शाखाबाट २० लाख रुपैयाँ ऋण लिएको उपभोक्ता समितिले जनाएको छ । स्थानीयवासीबाट समेत ऋण लिइएको अध्यक्ष पाइजाले बताए ।
वि.सं २०७३ फागुनदेखि सुरु भएको परियोजना निर्माणकार्य एक वर्षमा सकिएको थियो । परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाइएको हो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताए । परियोजना निर्माण भएपछि सामुदायिक होटलमा राइसकुकरमा खाना पकाउन, पानी तताउन, मोबाइल चार्ज गर्न, टिभी हेर्न, ल्यापटप, कम्युटर, इन्टरनेट चलाउन सहज भएको छ । उच्च पहाडी भूगोलको चिसो ठाउँमा विद्युत् सुविधा भएपछि खाना पकाउन र पानी तताउनका लागि दाउराको खपत कम भएको खोप्रा सामुदायिक लजका कर्मचारी नवीन पुनले बताए । शिख, पाउद्वार र नांगीमा रहेको सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि स्थानीयवासीले सञ्चालन गरेको सामुदायिक लजबाट सो क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई सुविधा पुगेको छ । २० जना क्षमताको सामुदायिक लजबाट आएको आम्दानीले परियोजना निर्माण गर्दा लागेको ऋण तिर्ने योजना छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुँदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो । वार्षिक एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गरेको ढाडखर्क सामुदायिक लजका कर्मचारी ज्ञान शेरपुञ्जाले बताए । लालीगुरासँको जंगल, हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, झरना, ताल तलैया, वनजंगल, वन्यजन्तु, चौरी र भेडाका गोठ यस क्षेत्रको पर्यटकीय आकर्षण हुन् ।
-सन्तोष गौतम