साउनदेखि इन्धनको ट्यांकरमा लकिङ प्रणाली
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
193

विराटनगर-नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले साउन पहिलो साताबाट ट्यांकरहरूमा लकिङ प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याउने भएको छ ।
भारतबाट इन्धन आयात गर्दा हुने चुहावट नियन्त्रण गर्न साउन पहिलो साताबाट सम्पूर्ण ट्यांकरहरूमा लकिङ सिस्टम कार्यान्वयनमा ल्याउन लागिएको हो । क्षेत्रीय कार्यालयले भारतीय आयल निगमको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको छ । मौसमी अनुकूलता (टेम्परेचर)को आधारमा ढुवानीकर्तालाई प्रति २० हजार लिटरमा २० लिटरसम्म छुट दिने गरिएको छ ।
सिक्युरिटी लकिङ सिस्टम लागू भएपछि भारतमा इन्धन लोड गर्ने ठाउँमै ट्यांकरहरूमा ताला लगाइनेछ । ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमै खोल्नेगरी व्यवस्थापन गरिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले बताए । “यसबाट इन्धन चुहावट नियन्त्रण हुन्छ,” उनले भने । हाल सिलिगुडीबाट चारआली, विर्तामोड डिपोसम्म इन्धन ओसार्ने सम्पूर्ण ट्यांकरहरूमा सिक्योरिटी लकिङ सिस्टम लगाइसकिएको छ ।
क्षेत्रीय डिपो विराटनगरका लागि इन्धन ओसार्ने ३ सय ५० ट्यांकरहरूमध्ये ९० प्रतिशतमा लकिङ सिस्टम लगाइसकिएको र बाँकी १० प्रतिशतमा पनि छिट्टै सिस्टम लगाइने खनालले जानकारी दिए । साउनको पहिलो सातादेखि लकिङ सिस्टमलाई पूर्णरुपमा कार्यान्वय गराइने उनको भनाइ थियो ।
लकिङ सिस्टम पूर्णरुपमा लागू भएपछि आयल निगम र ढुवानीकर्तामाथि लाग्ने गरेको इन्धन चोरीको आरोप अन्त्य हुने खनालले बताए । निगमको क्षेत्रीय डिपो विराटनगरले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ । क्षेत्रीय डिपोमा वार्षिक २ लाख ४० हजार केएल डिजल र ६६ हजार केएल पेट्रोल आयात गर्ने गरिएको प्रमुख खनालले जानकारी गराए ।