बाढीपहिरो पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण
रासस
शुक्रवार, असार २९, २०७५
116

देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले गत वर्ष नै विपद् व्यवस्थापनसम्बन्धी ऐन आए पनि हालसम्म नियमावली बन्न नसक्दा कार्यान्वयनमा आउन नसकेको गुनासो गरे ।
राजधानीमा नै अविरल वर्षाका कारण दर्जनौँ बस्ती डुबानमा परेको, नागरिकको ज्यान गएको, पुल पुलेसा बगाएकाले विपद् व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायलाई उचित रुपमा परिचालन गर्न सरकारलाई सुझाव दिए ।
वर्षाका कारण राजमार्ग अवरुद्ध भएको, वर्षाको फोहर पानीका कारण महामारी फैलन सक्ने भएकाले समयमा नै सचेतता अपनाउन सांसदहरुले अनुरोध गरे ।
सांसद महेश बस्नेतले गएरातिको भीषण वर्षाका कारण भक्तपुरको चाँगुनारायण– ७ मा एकै परिवारका तीन जनाको निधन भएको, राधेराधे, बालकोटको नयाँ बस्ती, मनोहरा खोलाको दायाँबायाँ, थिमिबाट बालकोट जाने पुल भत्किएको सदनलाई जानकारी गराए । स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा उद्धारको कार्य जारी रहेको भन्दै तत्काल मृतकको परिवारलाई राहत दिन र बाढीपहिरोपीडितलाई क्षतिपूर्ति दिन उनले आग्रह गरे ।
सांसद प्रेम सुवालले अविरल वर्षाका कारण देशव्यापीरुपमा जनता प्रभावित भएको, हनुमन्ते खोलाका कारण भक्तपुर डुबानमा परेको उल्लेख गरे । खोला साँघुरो भएको, मानवीय अतिक्रमणमा परेका कारण बस्ती डुबानमा परेकाले पूर्वसावधानी अपनाउन नसकिएका कारण समस्या बढेको उनले बताए ।
सांसद अमनलाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनाका कारण मोरङका जनता प्रभावित भएको, राहत नपाएको भन्दै गुनासो गरे ।
सांसद अनिकुमार झाले अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गर्दै रौतहटको एक कृषि मिललाई विवादित बनाइएको भन्दै नियमानुसार तत्काल समस्याको निरुपण गर्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिङ्देनले स्वीस बैंकमा रहेको भनिएको नेपालीको पैसा कसको हो भन्ने तत्काल पत्ता लगाउन र स्वदेश भित्र्याउन आग्रह गरे ।
सांसद प्रदीप गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अनाधिकृतरुपमा नियन्त्रणमा लिएको र स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकारको उल्लंघन भएको बताए ।