अनिश शर्मा गैरे
शुक्रवार, श्रावण २५, २०७५
217

गुल्मी-गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा गर्भवती महिला भएका २५ घरमा हरियो झण्डा राखिएको छ । गर्भवती महिला भएको घरको पहिचानका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।
महिलाहरू गर्भवती भएको भन्न हिच्किचाउने र भन्न नसक्ने स्थितिको कमी हुँदै आएको र स्वास्थ्य संस्थालाई पनि वडामा कहाँ के कती गर्भवती महिला छन् भनेर जान्नका लागि यस्तो अभियान थालिएको वडाध्यक्ष शोभाखर गिरिले जानकारी दिए । “हरियो झण्डा देख्नेबित्तिकै जुनसुकैले गर्भवतीको घर चिन्न सक्नेछन्,” उनले भने, “घरमा गएर गर्भवती महिलालाई आवश्यक सल्लाह सुझाव दिन सहज हुनेछ ।”

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको गिरिले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा राज्यले दिएका सेवा सुविधा प्राप्त हुनुका साथै जोखिमबाट बच्न सकिने उनको भनाइ छ । उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ ।
हरियो झण्डा अभियानले गर्भवती महिलाले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्न सक्ने त्यस गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वसन्त भुसालले बताए । “गर्भवती महिला धेरै लजाउनुहुन्छ,” उनले भने, “यस अभियानले लाज हटाएर समस्या खोल्न सहयोग गरेको महसुस गरेका छौं ।” उनले अभियान प्रभावकारी बनाई घरमा सुत्केरीमुक्त वडा घोषणा गरिने योजना रहेको समेत जानकारी दिए । “स्वास्थ्यसंस्था वा वर्थिङ सेन्टरमै सुत्केरी गराउने अभियान हो,” भुसालले भने, “घरमा सुत्केरी वडामुक्त घोषणा गर्ने योजना छ ।” उनका अनुसार सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्यांकको अधारमा वडा घोषणा गरिने छ ।
गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाअध्यक्ष गिरिले यस अभियान आफ्नै वडाबाट सुरु भएको र आगामी दिनमा सबै वडामा पु¥याउने योजना रहेको जानकारी दिए । उनले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार चार सय रुपैयाँ र न्यानो झोलावापत एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषण भत्तावापत एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गरे ।
यसरी घरमा हरियो झण्डा राख्नाले गर्भवती महिलाले कम्तीमा ४ पटक स्वास्थ्य संस्थामा आई परीक्षण गराए नगराएको सहजै थाहा हुनेछ ।