कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
1154

ओखलढुंगा-ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ का ३४ वर्षीय कोषबहादुर मगर आरआर क्याम्पस काठमाडौंको मानविकी संकायका विद्यार्थी हुन् । उनले ग्रामीण विकास र समाजशास्त्रमा स्नातक तहसम्म अध्ययन गरे । गाउँबाट पढ्न शहर छिरेका कोषबहादुरले लामो संघर्ष गरेर स्नातकसम्म अध्ययन गरे ।
घरको दुःखले गर्दा पढाइसँगै जागिर खोजे । भनेजस्तो पाएनन् । व्यापार गर्ने प्रयास पनि गरे । तर, उल्टै लगानी डुब्यो । “योग्यताअनुसारको जागिर पाइएन,” मगरले भने, “त्यसपछि भने गाउँमै कृषिमा लागेर केही गर्छु भन्ने योजना बनाएँ ।” त्यो योजना बनाएको छ वर्ष बितेको छ । उनले गाउँमा आएर किबी खेती थालेका छन् । रोपेको २ वर्ष ६ महिनामा किबी फल्न थालेपछि उनी उत्साहित बनेका हुन् ।

किबीका बारेमा राजधानी बस्दै सुनेका उनले गाउँमा आएर भगवती कृषक समूह गठन गरे । अहिले उनी समूहको व्यवस्थापक छन् । १० रोपनीभन्दा बढी क्षेत्रफलमा किबी खेती गरेका छन् । समुद्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा थालेको किबी लोभलाग्दो गरी फल्न थालेको छ । “मेरो पञ्चवर्षीय योजना हो,” उनले भने, “अब यसले आम्दानी दिने छाँट देखाएको छ, खुसी भएको छु ।”
उनको योजनालाई व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पनि ७ लाख २५ हजार ५ सय अनुदान सहयोग गरेको थियो । किबीसँगै उनले अन्य तरकारी बाली र बंगुरपालन गरिरहेका छन् । “पढेकाले खेतीको काम गर्न लजाउने चलन गाउँमा अझै छ,” मगरले भने, “तर मचाहिँ अब कृषिबाटै केही गर्ने सोचका साथ लागेको छु ।” गाउँमा प्रशस्त सम्भावना भएकोले विदेश जाने सोच नआएको उनले बताए ।
नवराज कार्की