कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
959

जनकपुरका व्यापारीले कर वृद्धि नगर्न माग गर्दै जनकपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । कर वृद्धि गर्दा व्यापार व्यवसाय सञ्चालन गर्न विभिन्न समस्या आउने भन्दै व्यापारीहरूले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । उनीहरूले सुरक्षित व्यापार तथा व्यवसाय गर्ने वातावरण बनाइदिन मागसमेत गरेका छन् ।
धनुषा चेम्बरका अध्यक्षसहितको प्रतिनिधिमण्डलले बिहीबार जनकपुरका मेयर साहलाई भेटेर व्यापार–व्यवसाय, धार्मिक पर्यटन र व्यापारीको सुरक्षालगायतका विषयमा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो । चेम्बरका अध्यक्ष विजय साहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा ब्यापारीहरूमा भय, त्रास, पीड़ा र दोहनको शिकार हुनु परिरहेको उल्लेख छ । ज्ञापनपत्रमा उपमहानगरपालिकाले वृद्धि गरेको करले व्यापारी झन् मर्कामा परेको उल्लेख गर्दै कर नबढाउन माग गरिएको छ ।

उद्योगी व्यवसायीहरूले जनकपुरधाम उपमहानगरपालिकाले तत्काल एउटा आफ्नै स्तरबाट जाँचबुझ समिति गठन गरी व्यापारीका समस्या र चुनौतीबारे अनुगमन गर्नसमेत आग्रह गरेका छन् । एडिबी परियोजनाले जनकपुरधामको विकासका लागि गरिरहेको कामले करिब एक वर्षदेखि जनकपुर बजार प्रायः ठप्प जस्तै रहेकाले यस विकास निर्माणको कार्यलाई दु्रतगतिमा अगाडी बढाउन आग्रह गरिएको चेम्बरका अध्यक्ष साहले बताए । उनले भन्सार कार्यालयबाट रसिद लिई नेपाल भित्र्याउने क्रममा प्रहरीले अनाहकमा मालसामान नियन्त्रण लिई व्यापारीलाई दुःख दिने गरेको भन्दै मेयरको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
ज्ञापनपत्र बुभ्mदै मेयर लालकिशोर साहले आफू जनकपुरधाम र स्थानीय व्यापारीका समस्याप्रति सचेत रहेको बताए ।