कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
784

खोटाङ-यौन दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिला चौहानविरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफूलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् ।
चौहानले असोज १६ गते राति १० बजे आफू बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरीबिना अंगालो हाल्दै जबर्जस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । घटनाको बारेमा कसैलाई भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्कीसमेत दिएको उनको भनाइ छ ।

वडाध्यक्ष चोहानले २०७४ पुस १८ गते पनि यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ ।
यौन दुव्र्यवहार गरेको अभियोगमा चौहानविरुद्ध जिल्ला अदालत खोटाङमा २०७५–सी–०००७ नम्बरमा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लालकुमार कार्कीले बताए । वडाध्यक्ष चौहानले भने आफूलाई यो विषयमा थाहा नभएको बताए ।