विप्लव काफ्ले
शुक्रवार, भदौ २९, २०७५
682

चितवन-जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको गेष्ट हाउस चौरमा सिटीहल बन्ने पक्का भएको छ । भरतपुर महानगरले जग्गा उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेपछि जिससले बुधबार दलका प्रमुखको रायसुझाव मागेको थियो । अब गेष्ट हाउस चौरमा ५ हजार क्षमताको सिटी हल बन्ने बाटो खुलेको छ ।
“क्यान्सर अस्पतालमा अब सिटी हल नबन्ने टुंगो लाग्यो,” कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने, “गेष्ट हाउस चौरमा बनाउने कुरामा सहमति जनाएका छौं ।” उनले भरतपुरको मुख्य बजारनजिकै रहेको क्षेत्र भएकाले गेष्ट हाउस चौरमै सिटी हल बनाउन सहमति जनाएको बताए । “सिटी हल यहाँ बन्दा कुनै पक्ष मारमा पर्दैनन्, जग्गाा पनि पर्याप्त छ,” उनले भने, “सिटी हल बनाउन परेको बजेट प्रयोगविहीन नहोस् भनेर हामीले विकल्प दिएका हौं ।” यसअघि महानगरको निर्णयलाई सहमति जनाउँदै स्वास्थ्य मन्त्रालयले अस्पतालभित्रको खाली जग्गामा सिटीहल बनाउने स्वीकृत थियो । मन्त्रालयले पठाएको फाइल मन्त्रिपरिषद्बाट पारित हुने क्रममा थियो । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेस चितवन र शिर्ष नेताले अस्पताललाई दीर्घकालीन असर पुग्ने भन्दै अन्यत्र विकल्प खोज्नुपर्ने भन्दै विरोध जनाएका थिए । साउन ६ गते कांग्रेस जिल्ला सभापति र साउन १० गते केन्द्रीय कार्यालयका मुख्य सचिवले विज्ञप्ति नै निकालेर विरोध जनाएका थिए ।

महानगरले २ महिना पहिले नै क्यान्सरमा सिटी हल बनाउने निर्णय गरेको थियो ।
नेकपा चितवनका तेजेन्द्रबहादुर खड्काले सिटी हल बनाउने गेष्ट हाउस चौर उपयुक्त हुने निष्कर्षमा पुगेको बताए । “खुल्ला जमिन प्रशस्तै छ, महानगरकै केन्द्रमा पर्छ,” उनले भने, “सिटी हलको योजना नगुमोस् भनेरै यो विकल्प रोजेका हौं ।” उनले शिवनगरलगायतका ठाउँमा सिटी हलका लागि जग्गा खोजिए पनि पर्याप्त जग्गा नपाएपछि गेष्ट हाउस चौर नै रोज्नु परेको बताए । चौर आसपासका पुराना सरकारी भवन स्थानान्तरण गरे प्रशस्तै जग्गा उपलब्ध हुने बताए । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले सिटी हलको बजेट कार्यान्वयनका लागि दलीय समझदारी भएकोमा खुशी व्यक्त गरिन् । “बजारनजिकैको खुल्ला जमिन देखेरै क्यान्सरको जग्गा रोजिएको थियो,” मेयर दाहालले भनिन्, “क्याबिनेटबाट फाइल स्वीकृत हुने क्रममा एक्कासि विरोध हुन थाल्यो, त्यहाँ बनाउन हुँदैन भन्ने आवाज आए, त्यसैले विकल्प खोज्नुप¥यो ।” उनले सिटी हलका लागि बजेट निकासा नहुँदै तीन महिना पहिल्यै जग्गा खोजी गरेर महानगरले प्रक्रिया थालेको स्मरण गरिन् । सिटी हल बनाउन ५० करोड विनियोजन भइसकेको छ । “गेष्ट हाउस चौर साँघुरोजस्तो देखिन्छ, तर दलले सहमति जनाएका छन्,” उनले भनिन्, “प्राविधिक टोलीले अध्ययन गरेर हुन्छ भनेलगत्तै जग्गाको स्वामित्व लिने प्रक्रियाअघि बढ्छ ।”
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले करिब १ विघामा सिटी हलको पूर्वाधार बन्ने भएकाले ठाउँ अपर्याप्त नहुने ठहर गरिएको बताए । “महानगरले जग्गाा उपलब्ध गराउन आग्रह गरेपछि दलबीच छलफल गरेका हौं,” उनले भने, “उहाँहरू सकारात्मक हुनुहुन्छ, भोगचलनको जग्गाको स्वामित्व प्रक्रिया २/३ मै हुनेछ ।” उनले अन्तर्राष्ट्रियस्तरको सिटी हल बनाउने योजना रहेकाले पार्किङका लागि थप जग्गा चाहिन सक्ने बताए । “यहाँको सहिद मञ्चको विकल्प अन्यत्रै सारिनेछ,” उनले भने, “यो क्षेत्रलाई सिटी हलकै लागि उपयोग गरिनेछ ।”

गेष्ट हाउस चौर कस्तो छ ?
भरतपुर–१० मा रहेको गेष्ट हाउस चौरमा करिब साढे ४ बिघा जग्गा छ । यसको उत्तरतर्फ जिल्ला प्रहरी कार्यालय, पश्चिमतर्फ वडा कार्यालय लगायतका पुराना साना भवन छन् । दक्षिणतर्फ कवर्डहल, पूर्वतर्फ मन्दिर र केही ससाना भवन छन् । गेष्ट हाउस चौरमा सिटी हल बनाउने भनेर ०५६/५७ मा धनधान्याञ्चल पनि भएको थियो । संकलित रकमले केही पर्खाल बनाउने काम भएको थियो । दक्षिणतर्फ २०७१ चैत ८ गते शहिद मञ्चको शिलान्यास भएको थियो । करिब ५४ लाख खर्चेर करिब ५० सय जना अट्ने मञ्च बनाइएको छ । तर, यो मञ्चको निर्माण कार्य पूरा भइसकेको छैन ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बजेट दिएको थियो । तत्कालीन जिविसको पहलमा यस क्षेत्रको विस्तृत सर्भे, अध्ययन, डिजाइन कार्य भएको थियो । मञ्चको दक्षिणबाट भीआईपी छुट्टै प्रवेशद्वार, उत्तरबाट सर्वसाधारणका निम्ति दुईतर्फी प्रवेश र बाहिर निस्कने द्वार, अतिथि तथा सर्वसाधारणका लागि छुट्टै पार्किङको व्यवस्थालगायतका संरचना बनाउने भनिएको थियो । यो चौरमा वि.सं २०१७ सालमा राजनैतिक आन्दोलनका क्रममा ज्यान गुमाएका करिब ८८ जना योद्धाको पार्थिव शरीर गाडिएको क्षेत्रका रूपमा लिने गरिन्छ । यही घटनाको सम्झनामा यहाँ शहिद स्मारक वा मञ्च निर्माणका लागि भन्दै पटकपटक बजेट निकासा भए पनि कार्यान्वयन हुन सकेको थिएन ।