कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
455

दाङ-प्रदेश सरकारअन्तर्गतका २ वटा सरकारी कार्यालयल दाङमा स्थापना गरिएको छ । कार्यालयको बिहीबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । प्रदेश सरकारअन्तर्गत जिल्लामा पहिलो पटक यी कार्यालय स्थापना गरिएका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल, तथा पशु सेवा विज्ञ केन्द्र दाङको उद्घाटन गरिएको हो । यी कार्यालयले दाङ र प्युठान जिल्ला हेर्ने छन् । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले कार्यालयले स्थानीय समस्यामा आधारित ससाना अध्ययन परीक्षण तथा भ्यालिडेसन परीक्षण सञ्चालन, माटो तथा मल बाली संरक्षण, बीउबिजन परीक्षणसम्बन्धी सामान्य प्रशोगशालाको सेवा, प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यावसायिक कृषक र व्यावसायिकहरूका लागि कृषि पशु पक्षीसँग सम्बन्धित विशिष्टीकृत ज्ञान सीप प्रदान गर्न एडभान्स तालिम सञ्चालन गर्ने जानकारी दिए । त्यसै गरेर स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ सेवा, प्रदेशअन्तर्गत सञ्चालन हुने संघीय कृषि विकास कार्यलय, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्नेछ ।
कृषि आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण, र उपयोग गर्ने, नेपाल कृषि अनुसन्धान परिषद्को बाह्य अनुसन्धानको रुपमा काम गर्नेछ । बीउबिजन तथा उन्नत स्रोत केन्द्रको रूपमा काम गर्ने, स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकाससम्बन्धी कार्य, बहु स्थानीय तह कार्यान्वयन हुने संघीय आयोजनाको सञ्चालन र नियन्त्रण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र पकेट, ब्लक, जाने तथा सुरपरजोनका लागि प्राविधिक सेवा दिने बस्नेतले बताए ।