कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
271

प्यूठान-प्यूठानको विजुवार जुम्रीदेखि रोल्पाको सुलिचौर जोड्ने सडक स्तरोन्नतिको विस्तृत परियोजना अध्ययन (डीपीआर) सुरु भएको छ । प्यूठानको मुख्य बजार केन्द्र जुम्री बसपार्कदेखि ढुंगेठाटी हुँदै रोल्पाको सुलिचौर सडक विस्तारका लागि अध्ययन सुरु भएको हो ।
केन्द्रीय योजनामार्फत विस्तृत परियोजना अध्ययन सुरु भएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । “दुई जिल्लाको आवतजावतलाई सहज बनाउन सडक योजनालाई प्राथमिकतामा राखेका छौं,” मेयर कक्षपतिले भने, “व्यावसायिक क्रियाकलापमा समेत यसले सहज बनाउनेछ ।” जुम्रीदेखि सुलिचौरसम्म सडकको लम्बाइ ३३ किमि छ । विस्तृत परियोजना अध्ययनसँगै सडक स्तरोन्नतिलाई प्राथमिकता दिइने उनले बताए ।

सडक स्तोउन्नतिले आवतजावत र स्थानीय उत्पादनको बिक्री वितरणमा समेत सहजता ल्याउने प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका वडाध्यक्ष लछुमन भण्डारीले बताए । “विजुवारदेखि देउराली सुलिचौरसम्म ३३ किमि ट्रयाक खुलेको छ,” उनले भने, “देउरालीसम्म नियमित गाडी चलिरहेको छ ।” सडकले प्यूठानको टारी, ढाडमँग्रा, जुम्रीकाँडा हुँदै रोल्पाको रुनिवाङ, बारमा, चिन्ने अरेस बस्तीलाई समेट्ने उनले जानकारी दिए । उनका सडक निर्माण भएमा दुई जिल्लाका दुर्गम क्षेत्रका जनतालाई औषधी उपचार र बजार गर्न समेत सहज हुनेछ ।
यस सडक खण्डअन्तर्गत विजुवार–ढुंगेठाटी सडक नियमित रूपमा मर्मतसम्भार भइरहेको छ । एसएनआरटीपी कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिमार्फत मर्मतसम्भार कार्यकर्ता राखेर सडक नियमित मर्मत गरिंदै आएको छ । सडक स्तरोन्नति भए प्यूठान–रोल्पा आवतजावतको दूरीसमेत छोटिने छ ।
-प्रज्वल पहाडी