कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
298

सल्यानमा बिमानस्थल निर्माण हुने भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा बिमानस्थल निर्माण हुने भएको हो । आईतबार लेखपोखरा बिमानस्थल पूर्व सम्भाब्यता अध्ययन प्रतिबेदन सार्बजनिक गर्दै बिमानस्थल निर्माणको लागी लेखपोखरा उपयुक्त भएको सार्वजनिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सम्भाब्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसीले राप्ती राजमार्गको लान्ती बजार देखी करिब १५ किमीको दुरीमा विमानस्थल बन्ने भएको बताए । साथै उनले यस आर्थिक बर्षमा लेखपोखरा बिमानस्थल निर्माणको लागी सम्भाब्यता अध्ययन गर्न गाउपालिकाले १५ लाख रुपैँया बिनियोजन गरेको जानकारी दिए ।

आरम्भ आर्कोटेक्ट एण्ड ईञ्जिजिनियर्स प्रालि काठमाण्डौले एक महिना सम्म गरेको पूर्वसम्भाब्यता अध्ययन प्रतिबेदनमा भौगोलिक रुपमा लेखपोखरा बिमानस्थल निर्माणको लागी उपयुक्त भएको उल्लेख छ ।
अध्ययनमा संलग्न प्रालिका किशोर थापाले बिमानस्थल निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको र केही सामुदायिक वनको भएकोले विमानस्थल गर्दा प्राविधिक रुपमा चाहिने जमिन प्रसस्त रहेको बताए ।
सल्यान जिल्लाको अधिकांश भूभागका २ लाख ४२ हजार ४ सय ४४ र रोल्पाका केहीभागका गरेर ३ लाख २१ हजार २ सय ९७ बढी लाभान्वित हुने प्रतिबेदनमा उल्लेख छ । लेखपोखरामा बिमानस्थ निर्माणको लागी ८१ करोड बढी लाग्ने अनुमान गरिएको छ ।
विमानस्थल बनाउने क्षेत्रमा केही सार्वजनिक जमिन रहेको र यस क्षेत्रमा घना जंगल पनि नभएकाले प्राकृतिक हिसाबले पनि खासै क्षति नहुने अध्ययन टोलीको निष्कर्ष रहेको छ । यहाँको सामुदायिक वन संग सहकार्य गरि काम गर्न सकिने अध्ययन टोलीले जनाएको छ ।
लेखपोखरामा विमानस्थल निर्माण भएमा यस जिल्लाकै आन्तरिक पर्यटनको विकास हुने बताउँदै गाउँपालिका अध्यक्ष केसीले यहाँको स्थानिय स्तरमा उत्पादन हुने टिमुर, सुन्तला, खुकुरी जस्ता सामाग्रीहरुलाई सजिलै ठुलो बजारमा पुर्याउन सकिने बताए ।
गाँउपालिका अध्यक्ष केसीका अनुसार यस विमानस्थलले छत्रेश्वरी गाँउपालिकाको मात्र नभई सिंगो जिल्लावासीको ड्रीम प्रोजेक्ट भएको बताए । उनले लागत धेरै देखेर निर्माण कार्य सम्भव हुदैन कि भनेर धारण नबनाउन आग्रह गरे । ‘छत्रेश्वरी गाँउपालिकाको लागी त बिमानस्थल हो, त्यति मात्र नभएर सिंगो सल्यानका लागी ड्रीम प्रोजेक्ट भएकाले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था छैन’उनले भने । उनले काम शुरु गरेपछि जुन सुकै काम पनि सम्भव भएकाले लेखपोखरा बिमानस्थल आफ्नै कार्यकालमा सञ्चालनमा आउने दावी गरे ।
सल्यान र रोल्पा जिल्लाका पश्चिमी भोगका करीव ३ लाख पचास हजार जनसंख्यालाई लक्षित गरी अध्यन थालिएको यस लेखपोखरा विमानस्थल संचालनमा आएमा १९ सिटे टुईनेटर विमानहरु अवतरण गर्न सकिने छ ।
-मेघा रेउले