कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
1632

विराटनगर-विराटनगरमा घुम्ने आकर्षक स्थानको अभावमा बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकलाई दिन कटाउन निकै गाह्रो हुने गरेको छ । विराटनगरमा १ घन्टा बिताउनु पर्यो भने त्यस्तो कुनै आकर्षक गन्तव्य छैन । तर, विराटनगर महानगरपालिकाले एक घन्टामात्रै होइन दुई–चार घन्टा समय बिताउन गाह्रो नपर्ने भएको छ । महानगर ५० तल्ले भ्यू टावर निर्माणको तयारीमा जुटेको छ । भ्यू टावरबाट विराटनगरसहित पूर्वको भेडेटार, जेफालेसहित उच्च पहाडी र हिमालको दृश्य हेर्न सकिने छ ।
विराटनगरका मेयर भीम पराजुलीले प्रदेशको राजधानी हुने लायक देखिने गरी भ्यू टावर निर्माण गरिने बताए । नेपालकै दोस्रो ठूलो सहरमा पर्यटकीयस्थलको अभाव खड्किँदा ऐतिहासिक स्थलको गरिमा खुम्चिँदै गएको थियो । सत्यनारायण मन्दिर व्यवस्थापन समितिले ९९ वर्षको लिजमा भ्यू टावर निर्माणका लागि २ बिघा ८ कठ्ठा जमिन उपलब्ध गराएकाले भ्यू टावर बन्ने पक्का भएको छ । व्यवस्थापन समितिका अध्यक्ष बल्लभ अधिकारी, संरक्षक सल्लाहकार एवं पूर्वसचिव किशोर थापाले महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीलाई जग्गा हस्तान्तरण गरे ।

विराटनगर–३ स्थित औषधि व्यवस्था कार्यालयनजिक धरान रोडसँग जोडिएको जग्गा आयल निगम कार्यालयनजिकै पर्छ । मेयर पराजुलीले भ्यू टावर निर्माणको डीपीआर सुरू गरेर भवनको डीजाइन चाँडै गरिने बताए । ५० तल्ले भ्यू टावरभित्रै रेस्टुराँ र वरपर रमणीय पार्क बन्नेछ । भ्यू टावरकै जग्गामा औद्योगिक प्रदर्शनी स्थलको समेत निर्माण गरिनेछ । औद्योगिक राजधानी भएर पनि एउटा पनि औद्योगिक प्रदर्शनीस्थल थिएन ।
टावर निर्माणका लागि संघीय सरकारले ५० करोड रूपैयाँ सहयोग उपलब्ध गराउने बचन दिएको पराजुलीले जानकारी दिए । ऐतिहासिक, औद्योगिक तथा राजनीतिक महत्व बोकेको विराटनगरलाई पर्यटकीय गन्तव्य बनाउन विराट राजाको दरबारको पुनर्निर्माण गर्न ५ अर्ब रूपैयाँ खर्च गरिँदैछ । यस्तै विराटनगर–५ स्थित दहाबन्दीमा ५ बिघा ७ कठ्ठा जग्गामा आधुनिक पार्क निर्माण गरिने महानगरको लक्ष्य छ । यस्तै १ सय किलोमिटरभन्दा बढी सडक पूर्वाधार निर्माण भइरहेकाले विराटनगर स्थायी राजधानीका लागि उपयुक्त बन्ने पक्का छ ।