दिपक बोहरा
बुधवार, आश्विन २४, २०७५
722

पाँचथर-अधिकांश समय बाक्लो हुस्सु र हुरी चली रहने पाँचथर र इलामको सीमावर्ती बजार हो सप्तमी बजार । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा परीक्षण गरिएको २ वर्ष हावाबाट बिजुली उत्पादन हुने भएको छ । लेकाली बजार सप्तमी बजार पाँचथर र इलामको सीमावर्ती बजार हो । अधिकांश समय हुस्सु र हावामात्र चलिरहने यो बजारमा २ वर्ष अगाडि वायु ऊर्जाको परीक्षण गर्न टावर राखिएको थियो ।
हुरी चलिरहने भएर स्थानीयबासीको अग्रसरमा वायुऊर्जा उत्पादन कार्य सुरु भएको हो । टावर राखिएको ठाउँमा अहिले भवन निर्माण गरिसकिएको छ । निर्माण गरिएको भवनमा ब्याट्रि राखिने छ । भवन र सौर्य, वायुऊर्जाको कन्ट्रोल एरियाको सुरक्षाको लागि धमाधम कम्पाउन्ड निर्माणकार्य भइरहेको छ । अब केही दिनमा विन्ड टर्वाइन निर्माणकार्य सुरु हुने वायुऊर्जा उपभोक्ता समितिका अध्यक्ष तथा मिक्लाजुङ गाँउपालिका–२ का वडाध्यक्ष सन्तोष सेर्माले जानकारी दिए । केही दिनमा विराटनगरबाट विन्ड टर्वाइन आइसके पछि निर्माणकार्यले गति लिने निर्माण कम्पनीले बताएको छ ।

सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत वायुऊर्जा मार्फत बत्ती बाल्न लागिएको हो । एसियाली विकास बैंकको ४ करोड ५० लाख रुपैंयाको आर्थिक सहयोगमा हावाबाट बिजुली उत्पादनको हुने भएको हो । कुल लागतको १० प्रतिशत लगानी भने स्थानीय उपभोक्ताले जम्मा गरिसकेको सेर्माले जानकारी दिए ।
हावाबाट बिजुली उत्पादन गराउने जिम्मा ठेकेदार कम्पनी टपसन इनर्जी काठमाडौँ र कृष्ण ग्रिल कम्पनी जेभी विराटनगरले पाएको छ । प्राविधिक सहयोग वैकल्पिक ऊर्जा विकास केन्द्र काठमाडौंले गर्नेछ । यस योजनामा वायुका साथै सौर्यऊर्जा पनि रहने निर्माण पक्षले बताएको छ । सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जानकारी दिएको छ । निर्माणकार्य अब केही दिनभित्र सुरु हुने अध्यक्ष सेर्माले बताए । निर्माण सुरु गरेको ६ महिनाभित्र काम सक्नुपर्ने सम्झैता भए पनि बर्खामा ढुवानी गर्न समस्या भएकाले निर्माणकार्य ढिलो मात्र सुरु भएको हो । दसंै तिहार सकिएलगतै हावाबाट विद्युत् उत्पादन गरी बिजुली बाल्ने निर्माण कम्पनी तयारी रहेको जानकारी निर्माण पक्षले दिएको छ । हावाको बिजुलीबाट सप्तमी बजारका ११० घरधुरी लाभान्वित हुने छन् । बिजुली उत्पादन पछि सप्तमी बजारमा रहेको नर्थ नेपाल टीस्टेटको चिया प्रशोधन केन्द्र र चिज उत्पादन केन्द्रलाई पनि राहत मिल्नेछ ।