कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
337

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खुर्कोट सडकमा मोटरेबल पुल निर्माणमा भएको ढिलाइमा चासो व्यक्त गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीसहित सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र सिन्धुलीका कांग्रेस नेताहरुले घुर्मि–खुर्कोट सडक खण्ड अन्तर्गतका मोटरेबल पुल निर्माणमा ढिलाइ भएको भन्दै मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाको कार्यालयसँग जानकारी मागेका छन् ।
सो सडक खण्डको खार्साङ खोला, सोखु खोला र बादुरे खोलामा निर्माण हुनुपर्ने मोटरेबल पुल २०६८ जेठमा टेण्डर भएर पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । त्यस्तै, सुनकोशी पुलदेखि घुर्मिबजार आसपास ५ किमि सडक र घुर्मिदेखि चतरा जोड्ने कोशी करिडोर सडकको पनि अहिलेसम्म काम सम्पन्न नभएको भन्दै उनीहरुले चासो व्यक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य केसीसहितको टोलीले सो सडक र पुल निर्माणमा भएको ढिलाइबारे मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाको कार्यालय पुगेर जानकारी लिएका थिए । उनीहरुले तत्काल काम अगाडि बढाउनसमेत दबाब दिएका छन् । आयोजना प्रमुख सत्यन्द्र शाक्यले २०६८ जेठमा पप्पु कन्स्ट्रकसनले ठेक्का लिई तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम हालसम्म नगरेकोले उसलाई कारबाही गर्ने जानकारी दिएका थिए । धुर्मि एरियामा जग्गाको मुआब्जाको विवाद भर्खरै टुङ्गिएकाले अब चाँडै निर्माण अगाडि बढाउने र घुर्मि–चतरा सडकको काम मुआब्जा विवादका कारण ढिला भएको जानकारी उनले गराएका थिए ।
नेता केसीसहित निर्माण ढिलाइ भएकोमा चासो व्यक्त गर्नेहरुमा सिन्धुली जिल्ला सभापति उज्वल बराल, कांग्रेस ओखलढुंगाकी पूर्वसभापति गोमा केसीलगायत सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाका कांग्रेस नेताहरु छन् ।