कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
649

इलाम-विद्युत् उत्पादनमा समेत महत्वपूर्ण स्थान ओगट्दै आएको इलामले नयाँ हाइड्रोको उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा आठ मेगावाट विद्युत् थपेको छ । इलामको माइखोलामा निर्माण भएको सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा विद्युत् थपिएको हो ।
यहाँबाट क्रमशः नयाँ विद्युत् आयोजना सम्पन्न भएसँगै इलामलाई हाइड्रोको जिल्ला भनेरसमेत चिनिन थालेको छ । इलामबाट हालसम्ममा ११ वटा विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चारवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । यहाँ रहेका अग्ला पहाड र भिराला नदीका कारण विद्युत् उत्पादन गर्न सजिलो हुन्छ । जति धेरै पानीको बेग उत्ति नै बढी विद्युत् उत्पादन हुने भएकाले समेत इलाममा रहेका नदीनाला विद्युत् उत्पादन गर्न उपयुक्त मानिन्छन् ।

पानी बेसी भएकाले पनि यहाँ धेरै हाइड्रो उत्पादन र निर्माणाधीन अवस्थामा रहेको इलामका पत्रकार तथा हाइड्रो ज्ञाता विजयशेखर भट्टराइले वताए । बुधबारबाट मात्र माइखोलास्थित इलाम नगरपालिका–५ वरबोटे र माइजोगमाई–४ सोयाङको फेदीबाटमा रहेको सुपर माइहाइड्रो पावरले विद्युत् उत्पादन सुरु गरेको छ । ७.८ मेगावाट उत्पादन क्षमता रहेको यस हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको आयोजनाका प्रबन्धक निर्देशक माधवप्रसाद मैनालीले जानकारी दिए ।
२०७३ साल चैतबाट निर्माण सुरु भएको यस हाइड्रोले निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अवधिभन्दा २२ महिना अगावै विद्युत् उत्पादन सुरु गरेको हो । ड्राइ टेस्ट सुरु गरेको हाइड्रोले अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने बताइएको छ ।
सिदार्थ बैंक, सानिमा बैंक, सेन्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकको लगानीमा निर्माण भएको हाइड्रोले ७.८ मेगावाट विद्युत् उत्पादन गर्ने प्रबन्धक निर्देशक मैनालीले जानकारी दिए । एक अर्ब ५० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्षका साथ सुरु गरिएको हाइड्रो चाँडो सम्पन्न भएकै कारण करिब सात लाख रकम कम लाग्ने अनुमान गरिएको हाइड्रो प्रालिका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
अब क्यास्केट आयोजनाको काम समेत सुरु गरिएको अध्यक्ष कार्कीले बताए । करिब ३ मेगावाट क्यास्केट आयोजनाबाट विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । यसका लागि पूर्वाधारका काम सुरु भइसकेको बताउँदै यो आयोजना पनि चाँडै सक्ने लक्ष लिइएको अध्यक्ष कार्कीले वताए ।
देउमाई, माई, पुवा माई र जोगमाई गरी चारवटा माई रहेका छन् । यहाँ देउमाई खोलाबाट विद्युत् उत्पादन हुन सकेको छैन । यहाँको माईखोलाबाट सबैभन्दा बढी विद्युत् आयोजना सञ्चालन र सम्पन्न भइसकेका छन् ।