कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
569

नेपालमा होटल व्यवसायको कुरो गर्दा इस्वी संवत् १९५३–१९५६ को दशकसम्म पुग्नुपर्ने हुन्छ । नेपालकै आधुनिक र प्रथम होटल ‘रोयल होटल’ हो । उक्त होटल हालको निर्वाचन आयोग रहेको बहादुर भवनमा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले स्थापना गरेका थिए । स्मरण रहोस्, उनी एक राम्रो ब्याले नर्तक पनि थिए । तर, ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ ले आफ्नो ५० औं वर्षगाँठका अवसरमा प्रकाशित गरेको ‘रेन्डेजभोउस/बिल्डर्स अफ नाट्टा १९६६–२०१६’ नामक पुस्तकमा फिचर/इन्टरभ्यु दिँदै नाट्टाको १९९७–१९९९ को कार्यकालमा अध्यक्ष भएकी तथा नेपालको हेरिटेज बेसमा आधारित होटलमा गनिने द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले बताएअनुसार नेपालको पहिलो होटल तत्कालीन ‘पारस होटल’ हो, जुन होटल काठमाडौँको न्युरोडमा अवस्थित थियो भने उक्त होटल सन् १९५३–१९५४ मा स्थापना भएको थियो ।
जे भए पनि वि.सं. २०७४ मंसिर–पुसताका राष्ट्र बैंकले प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा खुलेका विभिन्न स्तरका तारे तथा बिनातारे (स्टार तथा ननस्टार) होटलहरूमा वार्षिक २५ लाख ३१ हजारलाई धान्न सक्ने बेड क्षमता छ । राष्ट्र बैंकको उक्त तथ्यांकमा उल्लेख भएअनुसार नेपाली होटल उद्योगले दैनिक ६९ हजार ३ सय ३५ जनालाई कोठा उपलब्ध गराउन सक्छ । यो भनेको नेपाली होटलहरूले दैनिक कम्तीमा ६९ हजार ३ सय ३५ विदेशी पर्यटकलाई सेवा–सुविधा दिन सक्ने क्षमताको द्योतक हो । हुन त त्यसपछि पनि नेपालमा होटल उद्योगमा लगानी बढ्ने क्रम निरन्तर जारी रहेको र कतिपय होटलको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेकाले यो संख्या अरू बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । उक्त तथ्यांकमा उल्लेख भएअनुसार नेपालको होटल उद्योगमा हालसम्म पर्यटकस्तरीय होटलहरू २ हजार ५ सयको हाराहारीमा निर्माण भएका छन् ।

माथि उल्लिखित राष्ट्र बैंकको अध्ययन प्रतिवेदन काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज, लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढीलगायत ५७ जिल्लामा आधारित थियो भने राष्ट्र बैंकको उक्त अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७३/७४ मा मात्र नेपालको होटल उद्योगमा ६ हजार १ सय ८८ कोठा थपिएको थियो । त्यस्तै उक्त वर्ष अघिल्लो वर्षभन्दा ९.९७ प्रतिशतले होटल उद्योगमा लगानी पनि बढेको देखिएको थियो । त्यसअघि नेपालको होटल उद्योगमा वार्षिक १५ लाखदेखि १७ लाख विदेशी पर्यटक मात्रै धान्न सक्ने अनुमान गरिन्थ्यो ।
फेरि पनि राष्ट्र बैंकको तथ्यांकलाई आधार मानेर भन्नुपर्दा काठमाडौँ र यसको वरिपरि मात्रै ७ सय ५० वटा पर्यटकस्तरका होटल छन् भने ती होटलको कोठा संख्या २७ हजार ३ सय ७१ छ । त्यस्तै पोखरा र यसको वरिपरि ८ सय १ वटा पर्यटकस्तरका होटल छन् । तर, यहाँका होटलको कोठा संख्या भने १७ हजार २९ मात्र छ । उता वीरगन्ज र यसको वरिपरि खुलेका ४ सय ९४ पर्यटकस्तरका होटलका १३ हजार ४ सय ९६ कोठा छन् । साथै, नेपालगन्ज र यसको वरिपरि खुलेका १ सय ९६ वटा पर्यटकस्तरीय होटलका ४ हजार २ सय ७४ कोठा छन् । विराटनगर र यसको वरिपरि २ सय ५१ वटा पर्यटकस्तरीय होटलका २ हजार ७ सय ५९ वटा कोठा छन् । भैरहवा र यसको वरिपरि ५२ वटा पर्यटकस्तरीय होटल खुलेका छन् भने तिनमा १ हजार ९ सय ३० वटा कोठा छन् । त्यसैगरी जनकपुर र यसको वरिपरि ४६ वटा पर्यटकस्तरको होटल सञ्चालनमा आएको छ भने ती होटलका कोठा संख्या १ हजार ३ सय ८० छ । उता धनगढी र यसको वरिपरि पनि ३८ वटा पर्यटकस्तरका होटल छन् भने यो क्षेत्रमा खुलेको होटलका कोठा संख्या १ हजार १ सय १६ छ ।
यीबाहेक पनि नेपालको विभिन्न स्थानमा खासगरी पर्यटकीय सम्भावना भएका क्षेत्र र पछिल्लो पटक संघीयता लागू भएसँगै आएको सहरीकरणको लहर अनि नगरपालिका र गाउँपालिकाको केन्द्र तोकिएको क्षेत्र/ठाउँमा पनि सेवाग्राहीलाई लक्षित गरेर सामान्य होटल/लज मात्रै नभएर ठूलै लगानीमा पर्यटकस्तरीय होटल/लज/गेस्ट हाउस खुल्ने क्रम बढेको छ । यसले पनि नेपालको होटल उद्योगमा संगठित र व्यक्तिगत तवरले लगानी बढेको छ भन्न सकिन्छ ।