कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
387

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने, “सिंहदरबार अब भत्काउनुपर्दैन । प्रवलीकरण गर्ने हो । हामी टेन्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं । ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ । हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं । सारै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं ।”
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मानन्धरले सिंहदबार ६३ प्रतिशत जस्तोको त्यस्तै रहेको पनि जनाए । त्यस्तै उनले धरहरा पनि २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । मानन्धरले थपे, “रानीपोखरीको पुनर्निर्माण पनि अब छिट्टै सुरु हुन्छ । खुरु–खुरु काम गर्न दिइएन । विवादै विवाद सुल्झाउँदा केही समय लागेको हो । अब काम सुरु हुन्छ ।”

काष्ठमण्डपको पनि पुनर्निर्माण पनि चाँडै सुरु हुने उनले बताए । मानन्धरले भने, “स्थानीय जनताको सहकार्यमा हामी छिट्टै घोषणा गर्छौं । अब ढिलाई हुँदैन ।” उनका अनुसार प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल बनाइसकेको छ । उनले भने, “अहिलेसम्म हामीले ४३ प्रतिशत निजी आवास बनाइसकेका छौं । जे भएको छ, त्यो भएको छ भनेर भनिदिनुपर्यो ।”
प्राधिकरण गठन गर्न मै १० महिना समय लागेको र यो बीचमा सीईओहरू परिवर्तन भइरहेकोले काम भएन कि भनेर देखिए पनि प्राधिकरण सुस्त नरहेको उनको दाबी छ । उनले २३० सरकारी भवनमध्ये अहिलेसम्म १६ वटा भवनको पुनर्निर्माण सम्पन्न भइसकेको जनाए ।
उनले भने, “अरु कतिपय निर्माणाधीन छन् । कतिपय टेण्डरको प्रक्रियामा गइसकेका छन् । २२३ स्वास्थ्य भवन निर्माण भइसकेका छन् ।” आगामी जुलाई १५ देखि २० सम्म ९० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसक्ने पनि उनले दाबी गरे । आगामी २ वर्षभित्र सबै सरकारी भवनको पुनर्निर्माण सम्पन्न हुने उनको दाबी थियो ।
७५१ मध्ये १२१ वटा सम्पदाको पुनर्निर्माण भइसकेको पनि उनले जनाए । पुनर्निर्माणको लागि समय र लगानी दुवै आवश्यक हुने बताउँदै उनले भने, “हामीलाई ९ खर्ब आवश्यक थियो । त्यसमध्ये प्राधिकरणले ३ खर्ब ५१ अर्ब प्राप्त गरिसकेको छ । यो वर्षलाई १ खर्ब ५१ अर्ब राखेका छौं ।” २०४५ सालको भूकम्पपछि २ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने भनेर योजना बनाए पनि ७ वर्ष लागेको सुनाउँदै अहिले पनि केही समय लाग्ने उनको भनाइ थियो ।
उनले पुनर्निर्माणका लागि सहयोग गर्ने भनेर दाताले घोषणा गरेको रकम प्राप्तिको लागि आफूहरूले घच्घचाउने पनि जनाए । उनले भने, “दाताहरूले दिन्छौं भनेको रकम सबै प्राप्त भएको छैन । प्राप्त हुने रकमको लागि हामी घच्घचाउँछौं ।”
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिले पनि निर्माणका काम सुस्त गतिमा भएको गुनासो पोखे ।
पुनर्निर्माणसम्बन्धी काम अघि बढाउनको लागि आफूहरूले देशव्यापी रूपमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले सुनाए । उनले भने, “निर्माणको काम कसरी गर्ने र भूकम्प प्रतिरोधात्मक घर कसरी निर्माण गर्ने भन्नेबारे हामी सचेत छौं र, यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छौं ।”