भीम गौतम
मंगलबार, कार्तिक २०, २०७५
447

२० ठाउँमा चार्जिङ स्टेसन बनाउँदै

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको प्रवद्र्धन अभियान अघि बढाएको छ । सरकारले पाँच वर्षभित्र यातायात क्षेत्रमा २० प्रतिशत विद्युतीय साधन पु-याउने लक्ष्य राखेपनि त्यसलाई लक्षित गरी ठोस योजना ल्याउन नसकिरहेको बेला विद्युत् प्राधिकरणले भने सवारी साधनको प्रर्वद्धनका लागि अभियान अघि बढाएको हो ।
आफैं विद्युतीय सवारी साधनको उपयोगसँगै विद्युतीय सवारी साधनलाई अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राधिकरणले योजना अघि बढाएको छ । “विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि २० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न लागेका छौं,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “काठमाडौँ उपत्यका र बाहिरका सम्भावित स्थानलाई लक्षित गरेर चार्जिङ स्टेसन बनाउन लागेका छौं ।” उनका अनुसार चार्जिङ स्टेसन निर्माणका लागि टेण्डर डकुमेन्ट निर्माण गर्ने कार्य अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता दिने बताइसकेका छन् । तर, सरकारले चार्जिङ स्टेसन निर्माण, सञ्चालन र यसको व्यवस्थापनका लागि हालसम्म नीति भने बनाएको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने चार्जिङ स्टेसन निर्माणका लागि नीतिगत व्यवस्थासँगै सबै सवारी साधन चार्ज गर्न सक्ने युनिर्भर्सल चार्ज स्टेसनको निर्माणका लागि पहल भइरहेको बताउँछन् । एनईए इन्जिनियरिङ कम्पनीले युनिर्भसल चार्जर स्टेसन निर्माणका लागि अध्ययन अघि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य फरकफरक देशबाट आएका सवारी साधनको चार्जिङ गर्ने प्रणाली फरक फरक भएकोले सबैलाई मिल्ने गरी युनिभर्सल चार्जरका लागि अध्ययन भइरहेको बताउँछन् ।
चार्जिङ स्टेसन निर्माणका लागि अघि बढेको विद्युत् प्राधिकरण आफैंले पनि विद्युतीय सवारी साधनलाई उच्च महत्व दिन थालेको छ । प्राधिकरणले हालै तीन विद्युतीय सवारी साधन किनेको छ भने विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीले चार विद्युतीय सवारी साधन खरिद गरेर सञ्चालनमा ल्याइसकेको छ ।
विद्युतीय सवारी साधनको प्रवद्र्धनले विद्युत् खपत बढाउनुका साथै हाल भइरहेको इन्धनको आयातलाई समेत घटाउने भएकोले सरकारले उच्च प्राथमिकता दिएको छ । हाल भने नेपालभित्र रहेका तीन लाख सवारी साधनमध्ये विद्युतीय सवारी साधनको हिस्सा एक प्रतिशतभन्दा पनि कम छ । अधिकांश डिजेल, पेट्रोलबाट सञ्चालन हुने सवारी साधन भएकोले इन्धन आयात बढ्दो छ भने यसको कारणले व्यापार घाटा बढिरहेको छ । नेपाल आयल निगमका अनुसार वार्षिक इन्धन खपतमात्र डेढ खर्ब बराबरको छ ।
नेपाल विद्युत् प्राधिकरणले सोमबार भिœयाएको विद्युतीय सवारी ।