कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
386

नेपालगन्ज-करिब ४ दसकदेखि विद्युत् बाल्ने प्रतीक्षमा रहेका बाँकेको दुर्गम मानिने राप्तीपारिका स्थानीयको बत्ती बाल्ने सपना आगामी चैत महिनाभित्रै साकार हुने भएको छ ।
कोहलपुर–धामपुर ग्रामीण विद्युतीकरण अभियानअन्तर्गत वन क्षेत्रका रुख कटान नहुँदा रोकिएको विद्युत् लाइन विस्तारको कामका लागि रुख काट्ने कार्य सुरु गरिएपछि त्यस क्षेत्रका स्थानीय उत्साहित भएका छन् । सो विद्युतीकरण कार्यक्रम अन्तर्गत वन मन्त्रालयले विद्युत् लाइन विस्तारका लागि २.२ हेक्टर वन क्षेत्रमा भोगाधिकार दिएसँगै त्यस क्षेत्रका २१४ रुख कटान कार्य सुरु गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज र प्रदेश सभाकी साँसद कृष्णा केसीले संयुक्त रूपमा रुख कटान कार्यको शुभारम्भ गरेका छन् ।
राप्तीसोनारी गाँउपालिका–५ मा पर्ने उक्त वन क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि २१४ रुख कटान गर्ने अनुमति प्राप्त भएको डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख गणेशबहादुर खड्काले जानकारी दिए । रुख कटान भएको संख्याअनुसार आगामी २ वर्षभित्र वन कार्यालयले तोकेको स्थानमा १ रुख बराबर २५ वटा बिरुवा रोप्ने सहमति भएको र त्यसकै आधारमा रुख कटान कार्य सुरु गरिएको खड्काले बताए ।
३३ केभीए लाईन विस्तारका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको विद्युत् प्राधिकरण कार्यालय नेपालगन्जका निमित्त प्रमुख गणेशदत्त भट्टले जानकारी दिएका छन् । विद्युतीकरणका लागि आवश्यक पोल तथा तारलगायतका अन्य सामग्री झिकाइसकेकाले लाइन विस्तारमा अब कुनै ढिलाइ नहुने निमित्त प्रमुख भट्टले दाबी गरे । कात्तिक महिनाभित्रै रुख कटान सकिने र आगामी चैतभित्रै मुख्य लाइनमा विद्युत् प्रवाह गर्ने योजना रहेको भट्टले बताए ।
सो विद्युतीकरण आयोजनामा अवरोध बनेको रुख कटान कार्यको शुभारम्भ गर्दै संघिय साँसद महेश्वर गहतराजले कुनै पनि हालतमा आउने चैतभित्रै राप्तीपारिका क्षेत्रमा विद्युत् विस्तार गरिने बताए । उनले वर्षौैदेखि अँध्यारोको पीडा खेप्दै आएको राप्तीपारि क्षेत्रले विद्युतीकरणमार्फत विकासको मूलधारमा प्रवेश गर्न गइरहेको समेत जनाए । विद्युतीकरण कार्यमा बजेट बाधक नहुने विश्वास दिलाउँदै साँसद गहतराजले भने, “केन्द्रीय सरकारले राप्तीपारिका क्षेत्रमा विद्युत् विस्तारका लागि ९० प्रतिशत लगानीको ग्यारेन्टी गरेको छ तर स्थानीय तहले पनि विद्युतीकरणमा अपनत्व देखाउन जरुरी देखिएको छ ।”
उनले विद्युतीकरणका लागि निर्माण गरिने संरचनाको संरक्षण गर्नेे दायित्व स्थानीय तहको रहेको बताउँदै त्यसका लागि तयार रहन आग्रह गरे । सांसद गहतराजले रुख कटानको अनुमति प्राप्त गर्नु नै राप्तीपारिका लागि विद्युतीकरणको ढोका खुल्नु रहेको जनाउँदै अन्य क्षेत्रको विकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो अवसरमा प्रदेश नं. ५ की साँसद कृष्णा केसीले राप्तीपारिका जनताले बत्ती नबाल्दासम्म विद्युतीकरणको अभियान जारी रहने बताइन् । उनले धेरै लामो संघर्षपछि विद्युत् विस्तारको काम अगाडि बढे पनि त्यसले पूर्णता नपाउँदासम्म सबै पक्षलाई जिम्मेवार भएर लाग्न आग्रह गरिन् ।
कार्यक्रममा राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, डिभिजन वन कार्यालयका इन्जिनियर लालबहादुर बुढा, कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्कालगायतका सहभागिता रहेको थियो ।