कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
189

जाजरकोट-सडक सञ्जालसँग नजोडिएको अत्यन्तै विकट गाउँपालिका पर्ने बारेकोटमा स्थानीय सरकारले हेलिप्याड निर्माण गरेको छ । जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकाका ९ वटा वडामा हेलिप्याड निर्माण गरिएको हो । १८ लाख रुपैयाँ खर्चेर प्रत्येक वडाको बीचमा पर्ने गरी हेलिप्याड निर्माण भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
औषधि, खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्री पठाउन र बिरामीको सहज उद्धारका लागि यस्तो कार्य गरिएको हो । यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयले आफैले बोकेर दैनिक विभिन्न सामग्री बारेकोट गाउँपालिकाका विभिन्न वडामा लिने र ल्याउने गरिन्छ । टेलिफोनको राम्रो पहुँच नभएको बारेकोट गाउँपालिकामा सहज रूपमा सेवा प्रवाह गर्न समेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शााहले बताए ।

झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लुजस्ता रोग यही बारेकोट गाउँपालिकाबाट सुरु भएका थियो । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तहभन्दा फरक छ ।
विभिन्न खालका समस्या हवाई मार्गबाट सहज रूपमा हल गर्नका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिएको शाहको भनाइ छ । योभन्दा अगाडि विभिन्न समयमा रोग फंैलिदा औषधि आपूर्ति गर्नका लागि लिइएको हेलिकप्टर बस्ने ठाउँ नहुँदा समस्या भएको थियो । सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिमा जान र आउनमात्र सदरमुकामबाट दुई दिनभन्दा बढी लाग्ने गर्दछ ।
बिरामीलाई उपचारका लागि सदरमुकाम ल्याउन वा देशका अन्य ठाउँमा लिनका लागि धेरै दिन लाग्ने भएकाले हवाई मार्ग प्रयोग गरी छिटो उपचारका लागि लिन सहज हुने गाउँपालिकाले अपेक्षा लिएको छ । बर्सेनि खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले बताएको छ । यहाँको जनसंख्या २५ हजारभन्दा बढी छ भने ३ हजार २ सय घरधुरी छ ।