नीरज पिठाकोटे
शुक्रवार, पुष २७, २०७५
462

वीरगन्ज-वीरगन्जको एकीकृत भन्सार जाँचचौकीदेखि बाराको अम्लेखगन्जसम्मको ३०.६८ किलोटिर दूरीको निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको सम्झौता सकिँदै गर्दा औसतमा जम्मा ३५ प्रतिशतमात्रै काम भएको छ ।
कुल ५ अर्ब ३५ करोड ४४ लाख ७ हजार ९ सय ५८ रुपैयाँको कुल अनुमानित लागत रहेको ६ लेन व्यापारिक मार्गको हालसम्मको ठेक्का रकम ५ अर्ब २० करोड ६७ हजार ६४ रुपैंयाँ छ । २०७३ असार २९ गते सम्झौता भई २०७५ पुस २८ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने व्यापारिक मार्गको काम भने अझै आधा पनि हुन सकेको छैन । ४ अर्ब ६१ करोड २१ लाख ३७ हजार ७ सय अनुमानित लागतमा निर्माणाधिन व्यापारिक मार्गको ठेक्का रकम भ्याटबाहेक ३ अर्ब ३१ करोड ५६ लाख ६ हजार १ सय ७८ रुपैंयाँ र भ्याटसहित ३ अर्ब ७५ करोड, ४६ लाख ३४ हजार नौ सय ८१ रुपैंयाँ छ । व्यापारिक मार्ग निर्माणका लागि ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीले ठेक्का सकार गरेका छन् । एकीकृत भन्सार जाँचचौकी (आईसीपी) देखि अम्लेखगञ्जसम्मको ६ लेन निर्माणका लागि ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीहरूले साझेदारीमा ठेक्का लिएका छन् । उनीहरूले निर्माण सम्पन्न गर्न आयोजनासँग गरेको सम्झौताको म्याद भने पुस २८ गते शनिबार सकिँदै छ । म्याद सकिनै लाग्दासमेत निर्माण कार्यको प्रगति भने निराशाजनक छ ।

१ नम्बर प्याकेजमा आईसीपीदेखि परवानीपुरसम्मको एएमआर–पप्पु– कन्ट्याक्टको साझेदारीमा निर्माण भइरहेको छ । यसको अहिलेसम्मको भौतिक प्रगति ३५.३४ प्रतिशतमात्रै छ । ५२ करोड ६ लाख ७ हजार ८ सय ५१ रुपैंयाँ ९९ पैसा लागत रहेको यो ठेक्का –३५.१४% घटी रकममा सकार गरेको छ । त्यस्तै परवानीपुरदेखि आईसीपीसम्मकै दोस्रो प्याकेजमा श्रेष्ठ–विरुवा–एफेक्सको साझेदारीमा ठेक्कार सकार गरेकोमा अहिलेसम्मको भौतिक प्रगति जम्मा ४६.४१ प्रतिशत छ । यसले–२८.५४% घटीमा सकार गरेको ठेक्का रकम भ्याटसहित ५३ करोड ७५ लाख ५ हजार ७ सय ५९ रुपैंयाँ छ । त्यसैगरी परवानीपुर र आईसीपी क्षेत्रकै तेस्रो प्याकेजमा ठेक्का सकार गरेको पप्पु–लुम्बिनी जेभीले अहिलेसम्म ३०.०४ प्रतिशतमात्रै काम गरेको छ । यसमा ३४.१२% घटीमा ठेक्का सकार गरेको छ । यसको लागत भ्याटसहितको आयोजनाको चौथो प्याकेजमा वीरगन्जदेखि पथलैयासम्मको एएमआर र कन्ट्याक्ट जेभीले रकम ६८ करोड ५३ लाख ४५ हजार १ सय ८३ रुपैंयामा २०.४८% घटी ठेक्का सकार गरेकोमा अहिलेसम्म ४०.७२% काम गरेको छ । पाँचौ प्याकेजमा वीरगन्ज पथलैया सडक खण्डमै २९% घटीमा ठेक्का सकार गरेको सामा–युनाइटेड विल्डर्स–दिवा निर्माण सेवाले ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैंयाँको जम्मा २२.६२ प्रतिशतमात्रै काम भएको छ ।
आयोजनाको छैठौं प्याकेजको रूपमा वीरगन्ज–पथलैया सडक खण्डको निर्माणको ठेक्का एएमआर–कन्ट्याक्ट जेभीले लिएको छ । यसको पनि २२.६२ प्रतिशतमात्रै काम भएको छ । यसले ७६ करोड, ३७ लाख ५ हजार ८ सय ३० रुपैंयामा २३% कम रकममा सकार गरेको छ । समयमा निर्माण गर्न नसकेका ठेकेदारले दिएको थप म्यादमा पनि काम सकेका छैनन् । निर्माणमा ढिलाइ हुनुमा अधिकांश ठेकेदारले भने जग्गा प्राप्ति, निर्माण सामग्री अभाव र गतवर्ष आएको बाढीलाई कारण देखाएका छन् । युनाईटेड विल्डर्सका पोजेक्ट मेनेजर नरेन्द्र भण्डारीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरबाट आएको पानी, जग्गा प्राप्ति साइट क्लियरेन्स नहुँदा पनि काममा ढिलाइ भएको बताए । त्यस्तै अर्का इन्जिनियर सरोज चौधरीले निर्माण सामग्री अभाव बिल भुक्तानीमा समस्याले पनि ढिलाइ भएको बताए । उनले ठेकेदारहरूले न्यून रकममा ठेक्का पारेर समयमा उचित पारिश्रमिक नदिँदा मजदुर कर्मचारीको अभावले पनि समस्या भएको बताए । अन्तिम मिति सकिनै लाग्दासमेत अहिलेसम्म आयोजना निर्माणको भौतिक प्रगति सन्तोषजनक नरहेको व्यापारिक मार्ग आयोजना प्रमुख दिपक मिश्रले बताए । उनले अहिलेको ६ लेन सडकको कार्य प्रगतिलाई सन्तोषजनक भन्न नमिल्ने बताए । उनले भने, “यसलाई सन्तोषजनक भन्न मिल्दैन । तर, अब ढिलो नहोस्, सकेसम्म छिटो होस् । नाजायज ढिलो होइन, ढिलो हुनुमा केही जायज कुरा पनि होलान् तर, छिटो सक्ने प्रयासमा हामी छौं ।” सडक निर्माणमा जग्गा अधिग्रहण र मुआब्जा समस्याका कुरामात्रै अहिलेसम्म आउने प्रवृत्ति छ । विकासको कुरा किन आउदैन ? जहाँ सडक निर्माण हुन्छ, त्यहाँ वरपरको जग्गाको मूल्यांकन पनि वृद्धि हुन्छ । निर्माणपछिका विकास कर पनि हुन्छन् । तर, त्यस विषयमा भने कसैले कुरा उठाउँदैनन् । यी र यस्तै कुरा विकासका लागि बाधक बनिदिएको छ, आयोजना प्रमुख मिश्रको बुझाइ छ ।
६ लेन सडक निर्माण आयोजनाको सातौं प्याकेजको परवानीपुरदेखि गण्डकसम्मको निर्माणको भने म्याद अहिले बाँकी छ । यसमा पनि दिवा–स्वप्न जेभीले ४० करोड ३१ लाख ८० हजार ८ सय ३० मा २३.७२% कममा ठेक्का लिएको छ । २०७४ मंसिर ६ गते सम्झौता भएको यसको काम पनि अहिले ३.५३ प्रतिशतमात्रै भएको छ । यसको सम्झौता भने २०७६ मंसिर ५ मा सकिने छ । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने स्पामहरूको भने निर्माण भइरहेको छ । यसको भने पछि सम्झौता भएको हो ।