हिमेश विक
बिहिवार, फाल्गुन ३०, २०७५
359

धनगढी-डोटीको वीपीनगरमा निर्माणाधीन ३.३३ मेगावाटको कापडीगाड जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालदेखि निर्माणाधीन आयोजनाको ९९ प्रतिशत काम पूरा भएको सहायक इन्चार्ज सरोज घिमिरेले बताए । उनका अनुसार मुहान, कुलो, सुरुङ सिभिललगायतका काम सकिएको छ । “ड्राइ टेस्ट र वेस्ट टेस्ट गर्ने काम भइरहेको छ,” सहायक इन्चार्ज घिमिरेले भने, “१ महिनाभित्र बिजुली बल्छ ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत जडान भइसकेको छ । निर्माणाधीन कापडीगाड जलविद्युत् आयोजना सालमनी देवी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको छ । ५५ करोडको अनुमानित बजेटमा तोकिएकामा ७० करोडभन्दा माथि खर्च भइसकेको छ । लागत रकम थप बढ्न सक्ने अनुमान गरिएको छ ।

जलविद्युत् आयोजनाले डोटी जिल्लाका सम्पूर्ण घरधुरी र प्रसारणलाइनसँग जोडिएमा सम्पूर्ण पहाडी जिल्ला र कैलाली, कञ्चनपुर जिल्लालाई समेत सहज हुनेछ । आयोजनाले सहजपुर–अत्तरिया प्रसारणलाइनसँग जोडेर वितरण गर्नेछ । कैलाली स्याउले फास्ट ट्रयाकबाट पनि प्रसारणलाइनसँग जोडिनेछ ।
जलविद्युत् आयोजना कम्पनीले उत्पादन सुरु गरेपछि बीपीनगरमा रहेको सबस्टेस्नमा जोड्ेर प्रसारण लाइनसम्म पु¥याउने लक्ष्य रहेको कापडीगाड जलविद्युत् आयोजनाका सहायक व्यवस्थापक पुष्कर भट्टराईले बताए । उनले भने, “सालमनी देवी हाइड्रोपावरले आफ्नै निजी लगानीमा उत्पादन गर्न लागिरहेको छ ।” विद्युत् प्रसारण लाइनमा जोडिएपछि डोटीका स्थानीय जनताबाट सेयर लगानीका लागि आह्वान गरिनेछ । कम्पनीले स्थानीय जनतालाई १० प्रतिशत सेयर लगानी गर्ने प्रावधान बनाएको छ भने, स्थानीय कर्मचारी सेयर २.५ खुल्ला गरिनेछ । कर्मचारीले आफ्नो स्वइच्छाले सेयर लगानी गर्न सक्नेछन् । कम्पनीले ८७.५ सेयर लगानी गर्नेछ । डोटीको बीपीनगरमा निर्माणाधीन ३.३३ मेगावाटको कापडीगाड जलविद्युत् आयोजनासँगै त्यस ठाउँको बजार प्रवद्र्धनमा टेवा पुग्नेछ । आयोजनाले सरकारलाई तिर्ने ३० प्रतिशत कर स्थानीय तहको विकासका लागि खर्च गर्ने नियम छ । उठेको करमात्रै सरकारले स्थानीय तहमा खर्चने हो भने बीपी नगरको भविष्य उज्ज्वल हुनेछ । हाइड्रोपावरको सुरुवातसँगै त्यहाँका स्थानीय खुसी भएका छन् । रोजगारीका लागि विदेश जान बाध्य भएका युवा आफ्नै गाउँघरमा रोजगारीको अवसर पाउने भएपछि खुसी भएको स्थानीय हरेन्द्र साउदले बताए । उनले भने, “स्थानीय ठाउँमा रोजगारसँगै ठाउँमा होटल व्यवसायदेखि लिएर अन्य व्यवसाय पनि फस्टाउने बताए ।”