कारोबार संवाददाता
शनिवार, चैत्र २, २०७५
665

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरेको काम सन्तोषजनक देखिएको बताएको छ ।
समितिले शुक्रबार काठमाडौं–तराई द्रुतमार्ग निर्माणका सम्बन्धमा गरेको स्थलगत अवलोकनको प्रतिवेदन सार्वजनिक गर्दै हालसम्म सेनाले गरेको कामको कार्य प्रगती सन्तोषजनक देखिएको बताएको हो । समितिले सभापती कल्याणी कुमारी खड्काको संयोजकत्वमा गत पुस ६ र १६ गते दुई चरणमा द्रुतमार्गको स्थलगत अवलोकन गरेको थियो । सभापती खड्काले अब गर्नु पर्ने काम अझ जटिल भएकोले लक्ष्य अनुसार नै निर्माण कार्यलाई तीव्रता दिनुपर्ने निष्कर्षमा समिति पुगेको बताए । उनले कूल ७६ दशमलव दुई किलो मिटर मध्य ५४ किलो मिटर खण्डको कटिङ तथा फिलिङको काम करिव ७० प्रतिशत सम्पन्न भएको निष्कर्ष सहित यही गतिमा काम भए निर्धारीत समयभित्र सम्पन्ने हुने बताए ।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै सेनालाई १३ वुद्धे सुझाव पनि दिएको छ । सभापती खड्काले ईआइए प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयन गर्नु पर्ने, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) चाडो तयार गर्नुपर्ने, कार्यतालिका बनाई काम गर्नुपर्ने, आयोजना स्थल आसपासका स्थानीयहरुलाई योग्यता, क्षमता, सीपको आधारमा रोजगारी दिनुपर्ने लगायतको सुझाव दिएको बताए ।
फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाताको छनोट गर्न सफल भएको थियो । कम्पनीले डिपीआर प्रतिवेदन सेनालाई बुझाई सकेको छ । उक्त प्रतिवेदन हाल प्रधानमन्त्री नेतृत्वको समितिमा छलफल भइरहेको छ ।