कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
695

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पश्चिम नेपालका बाँके, बर्दिया र कैलालीमा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
सो क्रममा उनले सबै आयोजनाका लागि बजेट अभाव हुन नदिन सरकार प्रतिबद्ध रहेको जनाउँदै कामलाई तीव्रता दिएर समयमै सम्पन्न गर्नतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन् । बाँकेको अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै मन्त्री पुनले आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिएका थिए । उनले काम तीव्र गतिमा भए पनि किसानले अझै पनि सिँचाइ सुविधा नपाउन सकेको जनाउँदै सम्पन्न भइसकेको नहरमा पानी दिएर सिँचाइ सुविधा पुराउन निर्देशन दिए ।

बाँके, बर्दिया, कैलाली र सुर्खेतमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना निरीक्षणका क्रममा बाँके आइपुगेका मन्त्री पुनले सिक्टा परियोजना सम्पन्न गर्नका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए । नहरको काम सम्पन्न भएका ठाउँमा क्रमिक रूपमा किसानलाई पानी दिने सरकारको नीति रहेको उनको भनाइ थियो ।
यसैबीच बाँके राप्तीपारिबाट प्रदेश नं. ५ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका दुई गाउँपालिका राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा मन्त्री पुनलाई जानकारी गराएकी थिइन् । उनले ती दुई गाउँपालिकामा विद्युत्को समस्या विकराल रहेको भन्दै तत्काल विद्युत् लाइन विस्तारका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । सांसद नमुनाले राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीयले बर्षौदेखि भोग्दै आएका समस्याका साथै विद्युत्, सिँचाइ र तटबन्धको उचित प्रबन्धका लागि मन्त्रालयस्तरबाटै पहल गर्नुपर्ने मागसहितको ज्ञापन पत्रसमेत बुझाएकी थिइन् ।
राप्तिसोनारी गाउँपालिकाका अधिकांश वडामा वर्षात्का समयमा डुबान हुने हँुदा केन्द्रीय सरकारले दीर्घकालीन योजना बनाउन राप्तिसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लखन थारुले मन्त्री पुनलाई आग्रह गरेका थिए ।
ज्ञापनपत्र बुझदै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणरस्तरीय काम गर्न निर्देशन दिएका थिए । आफू विगतदेखि नै राप्तीपारिका समस्याका विषयमा जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत्, सिँचाइ र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए । ऊर्जामन्त्री पुनले बर्षौदेखि समस्याका रूपमा रहेको विद्युत्, सिँचाइ र तटबन्ध समस्या समाधान गर्नका लागि गुरुयोजना तयार पारिएको र छिट्टै स्थानीयले महसुस गर्नेगरी प्रतिफल प्राप्त गर्ने प्रतिबद्धतासमेत जनाए ।
मन्त्री पुनसहितको टोलीले सिक्टा सिँचाइ, भेरी–बबई डाइभर्सन, बबई सिँचाइ आयोजना र रानी–जमरा सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।