तल्लोसेती डीपीआरमा १९ कम्पनी इच्छुक
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
339

१४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउन लागेको अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजना तल्लोसेतीको डीपीआरका लागि १९ कम्पनीले आशयपत्र पेस गरेका छन् ।
१ सय ५ मेगावाटको तल्लोसेती जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गर्न १९ कम्पनीले आशयपत्र पेस गरेका हुन् । परामर्शदाता छनोट गर्न बोलपत्र तथा आशयपत्र पेस गर्ने समय गत जेठ ११ गतेसम्म तोकिएको थियो । युरोप, अमेरिकालगायत देशका कम्पनीले पेस गरेको आशयपत्रबाट आगामी २ महिनाभित्र योग्य कम्पनीको ‘सर्ट लिस्ट’ (पूर्व छनोट) गरिने कम्पनीले जनाएको छ । 
सबै प्रक्रिया पूरा गरेर आगामी ६ महिनाभित्र परामर्शदाता छनोट गर्ने लक्ष्य लिइएको छ । परामर्शदाताले काम सुरु गरेको २० महिनामा डीपीआर तयार गर्नुपर्नेछ । डीपीआर तयार गर्न एसियाली विकास बैंक (एडिबी) ले ३ करोड ५० लाख अमेरिकी डलर अनुदानमा उपलब्ध गराएको छ । डीपआिरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इन्जिनियरिङ तयार गर्नुपर्नेछ । २२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो । 
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले सुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो । गण्डकी नदी बेसिन गुरुयोजनामा भने आयोजनाको क्षमता १२७ मेगावाट उल्लेख छ ।