कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
1023

बन्दिपुरमा केवलकार निर्माण हुने भनेको करिब ४ वर्ष भयो । बन्दिपुरमा केवलकार निर्माण हुने भनिएसँगै स्थानीय खुशी समेत भए । तर लामो समय बितिसक्दा समेत केवलकारको निर्माण कार्य सुरु भएन । यही बीचमा २०७२ सालमा भूकम्प गएपछि केवलकारको निर्माण कार्य पछि धकेलियो । साथसाथै लगानी समेत जुट्न नसक्दा केवलकार निर्माणको काम स्थगित भएको थियो ।
करिब ५५ करोड रुपैयाँ लगानीमा १५ सय मिटर दूरीको केवलकार निर्माणको शिलान्यासको तयारी थालिएको छ । बन्दिपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट कम्पनीको साझेदारीमा केवलकार निर्माण गर्न लागिएको हो ।
केवलकार निर्माणका लागि सबै लगानी जुटिसकेको र झण्डै ५५ करोडमा केवलकार निर्माण हुने बन्दिपुर केवलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । “अब छिट्टै केवलकारको शिलान्यास गर्ने तयारी गरिएको छ,” उनले भने, “यसमा स्थानीयको सेयरको समेत व्यवस्था गरेका छौं ।”
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकार निर्माणका लागि उद्योग विभागबाट अनुमति प्राप्त भइसकेको छ । केवलकारबाट एक घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । १० रोपनी क्षेत्रफलमा निर्माण हुने केवलकारले बन्दिपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दिपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने बताइएको छ ।
कम्पनीले टप र बटम स्टेसनमा स्थानीय जनताको सहकार्यमा होटल तथा रेस्टुराँ खोल्ने उद्देश्य राखेको छ । बटम स्टेसनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको समेत व्यवस्था गरिने छ । ठूल्ढुंगाबाट सुरू हुने केवलकार सिद्धगुफा छेउ हुँदै बन्दीपुर पुग्नेछ । ठूल्ढुंगोबाट बरालथोकसम्म पुग्दा केवलकारले एक किमि पाँचसय मिटर यात्रा गर्नेछ ।
तनहुँको डुम्रे बजारदेखि बन्दिपुर पुग्न ७ किमिको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केवलकार निर्माण भएपछि केवलकारमा ९ मिनेटमा बन्दिपुर पुग्न सकिन्छ ।

 -कृष्ण न्यौपाने